आमाबाबुका लागि १३ दिन समय दिन किन कञ्जुस्याईं ?

death-culture-kiriya-mrityu-sanskar-antim-sanskar
diwakar-panta
लेखक

आज भोली केही गन्यमान्य भनिएका व्यक्तिहरु आफ्ना मातापिता (आमाबाबु)को अन्तिम संस्कार यानेकी किरिया कर्म पद्दतिलाई शास्त्रले तोकेभन्दा थोरै दिनमा गर्ने र आफूलाई परिवर्तनशील भएको देखाउने होडबाजी नै चलेको छ । चाहे त्यो डाक्टर उपेन्द्र देवकोटाको निधनपछिको अन्तिम संस्कारमा किन नहोस वा मनुजबाबु मिश्रको अन्तिम किरिया संस्कारमा नै किन नहोस । देवकोटाको परिवारले प्रेस विज्ञप्ति नै निकालेर किरिया संस्कार ७ दिनमा सक्ने जनाएको थियो भने मिश्र परिवारले त झन ५ दिनमा नै किरिया कर्म टुङग्याउने निर्णय गरेको थियो । मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्रले मृत्युकर्मलाई समयसापेक्ष बनाउन ५ दिन किरिया गर्ने अभिव्यक्ति आफ्नो फेसबुक वालमा लेख्नु भएको थियो ।

देवकोटा र मिश्रको परिवारका सदस्यको निधनमा गरिएका मृत्यु संस्कारको परिवर्तित रुप बारेको निर्णयका लागि उहाँहरु नै स्वतन्त्र भएकाले यसलाई उदाहरणका रुपमा पेश गरेकोमा माफी चाहान्छु । तर, सार्वजनिक जीवनमा रहेका र समाजमा चिनिएका व्यक्तिहरुको निधनमा उहाँहरुको परिवारले अपनाएको संस्कारलाई समाजले पनि नजिकबाट नियालिरहेको हुन्छ भन्ने यथार्थतालाई म उल्लेख गर्न चाहन्छु । “ठूलाले जो गर्याे हुन्छ सर्वसम्मत” भनेझै समाजका सार्वजनिक व्यक्तिहरुले अपनाउने गतिविधि अरुले पनि अनुसरण गर्ने भएकाले यसबारे चर्चा गर्नु आवश्यक ठानिएको हो ।

एक पटक के भएछ भने आफ्नो बुढो भएको पितालाई घरमा के पालिरहनु भन्ने लागेर एक जना छोराले डोकामा राखेर भिरबाट फ्याक्नका लागि बाटो लागेछ । पितालाई चाँही तीर्थ गर्न लैजान्छु भनेछ । गाउँभन्दा अलि परको भिरमा डोको विसाएर भिरबाट गुल्ट्याउनै लाग्दा गाउँकै अर्काे एक जना व्यक्तिले देखेछन । उनले सोधे– बाबुलाई कता लैजान लागिस् ? उसले ढाँट्न खोजे जस्तो गरेता पनि सत्य बोल्नै पर्ने भयो । अनि ती सोध्ने व्यक्तिले ठिकै छ तिमिले जे गर्न खोजेको होऊ त्यसमा खासै केही भन्नु छैन तर यो डोको चाहीं नफालेस् किनकी तिमी बुढो भएपछि तिम्रो छोराले तिमीलाई बोक्नका लागि पनि त यो डोको चाहिन्छ नि भने छन् । अनि त्यो बुढो पितालाई फ्याक्न ठिक्क परेको व्यक्ति झल्यास्स भएर आफ्नै पिता र ती व्यक्तिसँग माफी माग्दै पितालाई बोकेर घर फर्केछ ।

हुन त चलिआएको संस्कारका कतिपय विषयवस्तुहरु समय सापेक्ष परिवर्तन गर्दै लैजाँदा ठिक हुने खालका पनि हुन्छन् । तर केही आधारभुत मान्यताका विषयहरु निकै ठूलो अनुसन्धानबाट हाम्रा ऋषिमुनीहरुले तय गरेको पाईन्छ । यस्तो सन्दर्भमा अन्तिम मृत्यु संस्कारका लागि सर्वमान्य ढंगबाट तोकिएको १३ दिने पद्दतिलाई आफू खुशी बदल्दै लैजाँदा त्यसले हाम्रो संस्कारमा पार्ने व्यथितिप्रति पनि एक पटक सोचिदिने पो हो कि ?

पछिल्लो पुस्ताले अवलम्बन नै नगर्ने पो हो कि ?
सूचना प्रविधिको युगमा गुज्रेको युवा पुस्ता जे पनि तत्काल चाहन्छ । समयको चापमा पनि यो पुस्ता परेकै छ । अझ पछिल्ला पुस्ताहरु समयको चापमा पर्दैजाने छन् । यस्तो अवस्थामा अन्तिम संस्कारलाई चुस्त बनाउन भन्दै युवा पुस्ताले आर्यघाटमा आफ्ना पितामातालाई दहन गरेपछि संस्कार सकियो भन्न थाल्यो भने के होला ? अहिलेको पुस्ताले १३ दिने कर्म पद्दतिलाई त्यागेर ५ वा ७ दिनमा आफू खुशी गर्न छुट छ भने, अब आउने पुस्तालाई पनि एकै दिनमा समय सापेक्ष बनाउने भन्दै समय छोट्याउने छुट हुन्छ कि हुँदैन ?

यसैगरी एकपछि अर्काे पुस्तामा हाम्रो संस्कार क्षीण हुँदै गएर कतै अन्त त हुने होईन ? भन्ने प्रश्न पनि यति बेला जन्मेको छ । यदि कुनै पनि विषय समय सापेक्ष नभएकै हो भने ती बारे निर्णय लिने प्रक्रिया पनि नभएका होइनन् । सदियौदेखि सर्वमान्य पद्दतिका रुपमा चलिआएका विषयलाई हठात परिवर्तनका नाममा खल्बल्याउँदा त्यसले समग्र वैदिक सनातन संस्कृतिमाथि नै नकारात्मक प्रभाव पार्ला कि भनेर पनि सोच्नु पर्ला कि ?

संस्कार र समय सापेक्षताको मुल्यांकन
हो, कतिपय प्रचलन समय सापेक्ष नभएमा परिवर्तन गर्नैपर्छ । समय सुहाउँदो अवलम्बन गर्न नसकिने संस्कार लोप नै भएर पनि जान्छन् । तर, समय सापेक्ष भनेको के हो ? मानौ कुनै पनि व्यक्तिले आफ्ना मातापितालाई उनीहरुको निधनपछि जम्मा एक महिना त दिनु पर्ने हो नि । १३ दिन पिताको किरियाका लागि र १३ दिन माताको किरियाका लागि । यसमा चार दिन थप दियो भने जम्मा एक महिना त हुन पुग्छ नि । यो एक महिना आफूलाई जन्म दिने मातापिताका लागि उहाँहरुको निधनपछि समर्पणमा दिने “एक महिना” हो ।

के आफ्ना मातापिताको निधनमा एक महिना उहाँहरुको मृत्युकर्म गर्नका लागि दिने विषय कसरी समय सापेक्ष भएन ? जीवनमा अर्काे पटक चाहेर पनि मातापिताको किरिया पटक पटक गरिने कर्म होइन । यस्तो अवस्थामा संस्कारगत हिसावले तोकिएको १३ दिन विनियोजन गर्दा कुनै पनि व्यक्तिको जीवनमा कति नै ठूलो नोक्सानी हुन्छ र हुजुर ? त्यो एक महिनाको अवधिमा कुनै पनि मानिसले के नै लछारपाटो लगाउन सक्छ र ? फेरि यो एक महिना जीवनमा एक पटक मात्र दिने एक महिना न हो ।

मृत्य संस्कार र श्राद्धको वैज्ञानिकता
आधुनिक समाजमा प्रवेश गरिसकेको विश्वको जुनसुकै समाजमा पनि मृत्युपछि सम्मानजनक संस्कार रहेको पाईन्छ । चाहे त्यो युद्धमा आफैद्धारा मारिएका शत्रुको शरीर नै किन नहोस । त्यस मृत शरीरलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता युद्ध आचारसंहितमा समेत छ । यस्तो सन्दर्भमा हाम्रो ओमकार परिवारभित्र मृत्युपछि गरिने निश्चित संस्कार तय गरिएको छ । यो पद्दति केवल हचुवामा नभई ठूलो अनुसन्धान गरि तय गरिएको वैज्ञानिक पद्दति हो । आज आफूलाई मात्र जान्ने सुन्ने र अरुलाई भुराभारी ठान्ने ठूलाबडाले पनि एक पटक घोत्लिएर हेरे हुन्छ कि हाम्रा ऋषिमुनीहरु कुन स्तरका वैज्ञानिक र अनुसन्धानकर्ता थिए भनेर ।

कुनै पनि परिवारका सदस्यको निधन स्वयम त्यस परिवारका लागि असैह्य पीडाको क्षण हो । तर जतिसुकै पीडा भएता पनि मृत्यु सास्वत सत्य हो । यसलाई कसैले टार्न सक्दैन । एकातिर असैह्य पीडा र अर्काेतर्फ यस सत्यलाई स्वीकार्नु पर्ने अवस्थाको सहज निकासका रुपमा किरिया कर्मलाई अपनाईएको पाईन्छ । जसलाई दुःख परेको छ, उसलाई सान्तोना दिन छरछिमेकदेखि आफन्तसम्म सबै आइपुग्छन त्यसबेला । दुःखमा परेको परिवारलाई एक दुई दिनमा नै तङग्रेर नियमित जीवनमा फर्काउनेभन्दा मानसिकरुपमा हिलिङ गरेर मनोवैज्ञानिकरुपमा मृत्यु त सत्य रहेछ भन्ने स्वीकार गर्दै पुनः लयमा फर्काउने विज्ञान यसभित्र अन्तर्निहित रहेको देखिन्छ । आफन्तको निधनको चोटलाई केही (१३) दिन लगाएर विस्तारै सम्बन्धित परिपारका सदस्यहरुलाई पुनः लयमा फर्काउन यस्तो व्यवस्था गरिएको हो ।

साथै, आफ्नो पितापुर्खाको हाँगोलाई कम्तिमा पनि वर्ष दिनमा दुई पटक श्राद्ध गरेर सम्झने परम्पराका लागि श्राद्ध परम्परा बािसलिएको हो । वर्ष दिनमा एक पटक नियमित श्राद्ध र अर्काे एक पटक १६ श्राद्ध गरि जम्मा दुई पटक तीन दिन मात्र दिवंगत मातापिताका लागि दिने हो । हुन त मान्छे बितेर गईसकेपछि तात्विक रुपमा नसम्झे पनि केही हुन्न, श्राद्ध नगरे पनि केही हुन्न । तर, यस्तो खाले असंवेदनशील मान्यताको स्थानमा आफ्ना पितापुर्खालाई सम्झने, उनीहरुप्रति अनुग्रहित हुने, उनीहरुको योगदानलाई बेलाबेला सम्झने, उनीहरुको आर्शिवादका लागि कामना गर्नु समान्य संस्कारको कुरा मात्र होईन, यो वैज्ञानिक संस्कार हो ।

कुलत आदीको छुटकारा
समाजमा कतिपय यस्ता अवस्था पनि देखिएका छन् कि जीवनभर कुनै न कुनै कुलतमा रहेका व्यक्तिहरु माता वा पिताको निधनपछि किरियामा बस्दा र बरखीमा बस्दा त्यो कुलत छोडेको पनि देखिएको छ । अरु बेला जे गरे पनि छोडन नसकेको कुलत त्यसबेला छोडेको देखिन्छ । साथै मोटोपना, उच्चरक्तचाप, मानसिक दबाब, स्ट्रेस आदी जस्ता समस्याबाट यस अवधिमा मुक्त भएको पनि देखिन्छ । साथै केही व्यक्तिहरुले यस अवधिमा पथपहरेजमा बस्दा आफ्नो धेरै तौल घटाएको पनि पाईन्छ ।

यस अवधिमा पूरा नियववद्ध ढंगबाट सादगी जीवन पद्दति अपनाईने भएकाले कुनै पनि मानिसले प्राकृतिक जीवन पद्दतिप्रति परिचित हुने र त्यसप्रति मोह बढ्न पुग्दछ । त्यसले मानिसलाई भोग्य जीवनपद्दतिबाट स्वस्थ जीवन पद्दतिमा परिवर्तन गर्ने अवसर समेत प्रदान गर्दछ । साथै कतिपयले रक्सी, चुरोट, गाँजा जस्ता कुलत त्यसैबेलादेखि त्याग्न पुग्दछन भने त्यसले उसको पारिवारिक जीवनमा सौहार्दता ल्याउँछ । यस अर्थमा १३ दिने किरिया कर्म पद्दति आफैमा लामो पद्दति होईन ।

यसले सामाजिक जीवनमा पार्ने राम्रा विषयबारे १३ दिन लामो भयो भन्ने व्यक्तिहरुको ध्यान जाओस् । कुनै पनि व्यक्तिले त्यस्तो खाले कुलत ५ दिन वा ७ दिनमा त्यग्न सक्दैन । यस्तो अवस्थामा धार्मिक विषयसँग जोडिएको पक्ष र मातापिताको निधनसँग जोडिएको श्रद्धासँग जोडेर नियववद्ध ढंगले श्रद्धापूर्वक रितिथितिमा बस्दा कुलत त्याग्न पुग्दछ र उक्त व्यक्तिको जीवन तथा परिवारमा त्यो भन्दा सन्तोषको क्षण अरु कुनै हुनै सक्दैन । त्यसैले दुःखभित्र उक्त परिवारमा सुखद कदम पनि सुरु भएको लाखौ उदाहरण समाजमा देखिन्छ । तर, त्यो सुखद परिस्थिति १३ दिने अन्त्यकर्म पद्दति र ४५ दिने वा एक वर्षे वरखी प्रद्दतिले मात्र सम्भव भएको हो ।

गलत अभ्यासको अन्त्य
हो, किरिया पद्धतिमा केही खर्चिलो पाटोहरु पनि हुन सक्छन् । सक्नेले खर्चिलो तरिकाले पनि पद्दति अपनाउन सक्लान । तर, नसक्नेका लागि मितव्ययी पद्दतिलाई प्रश्रय दिन कर्मकाण्डमा सक्रिय कर्मकाण्डी ब्राम्हण, पुरोहितले भूमिका खेल्न आवश्यक छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई सरल कम खर्च हुने गरि तर पद्धति भने सबै अपनाएर अन्त्यकर्म गराई दिन आवश्यक छ ।

साथै कतिपयले १३ दिन नै किरिया पद्दति अपनाएर आफ्ना मातापिताका नाममा समाजमा उदाहरणीय दान गर्न सक्छन । अर्थात कुनै विद्यालय, मन्दिर, छात्रछात्रालाई छात्रवृत्ति आदी दिएर सत्कर्ममा उक्त रकम दान दिन सक्छन । मातापिताका नाममा अक्षय कोष खडा गरेर समाजसेवामा लगाउन पनि सक्छन । तर, दुःखको कुरा अहिलेसम्म १३ दिन किरियाका दिन लामो भयो भनेर यसलाई परिवर्तन गर्न अभियान चलाउनेहरुले यसबारे चर्चा गरेको, सोच राखेको देखिंदैन ।

साथै किरिया पद्दतिमा केही सरता पनि अपनाउनुपर्ने हुन सक्छ । जस्तो किरियापुत्रीले फलफूल खान मिल्ने, पुस्तक पढ्न मिल्ने, पत्रपत्रिका पढ्न मिल्ने, रोगी र अस्वस्थ किरिया पुत्रीका लागि केही सहज परिस्थिति बनाउनुपर्ने भने देखिन्छ । त्यसका लागि यसो नै गर्नु पर्नेभन्दा पनि अवस्था हेरेर व्यवहारिक सरलता अपनाउनुपर्ने तर्फ भने ध्यान दिन आवश्यक छ, जुन समयसापेक्ष होस् । स्वस्थ किरियापुत्रीका लागि भने अन्त्यन्त न्युनतम साधनका साथ त्यसबेला गरिने जीवन अभ्यासले व्यक्तिमा आफू जस्तोसुकै परिस्थितिमा पनि फिट रहन सक्छु भन्ने मनोबल समेत प्रदान गर्दछ ।

एक रुपताको खाँचो
हो, यसबारे एउटा ठोस निर्णय लिन आवश्यक देखिएको छ । यदि १३ दिने अन्त्य कर्मपद्दति अहिलेका समय असुहाउँदो भएको हो भने यसलाई परिवर्तन गर्न वृहत्तर छलफलको खाँचो देखिन्छ । “बादे बादे जायते तत्वबोध” जस्तो वृहत्तर सोच राख्ने हाम्रो संस्कारमा यसबारे छलफलबाट टुंगो लागउन नसकिने पनि होईन । त्यसका लागि संस्कृति मन्त्रालय, नेपाल पञ्चाङ्ग निर्णायक समिति, नेपाल ज्योतिष परिषद्, कर्मकाण्डमा सक्रिय विद्धत वर्ग, लब्ध प्रतिष्ठित संस्कृतिविद् लगायतले कदम चाल्न आवश्यक छ । खासमा संस्कृति मन्त्रालयले यसबारे कुनै पनि चासो दिन सकेको छैन ।

यस्तो अन्योलले त पर्यटन जगतमा पनि नकारात्मक असर पुर्याउने छ । किनकी विदेशी पर्यटकलाई हाम्रो अन्त्य कर्म पद्दति यस्तो छ भनेर भन्न पर्यटक गाईडहरुलाई क्रमशः अन्योल हुँदै जानेछ । यस्तो अवस्थाले विदेशीको नजर हामीप्रति अन्योल हुँदै जानेछ ।

विदाको अन्योल
९७ प्रतिशतभन्दा बढी ओमकार परिवारमा आस्था राख्ने जनसंख्या रहेको नेपालमा मातापिताको निधनमा १३ दिन विदा दिने सरकारी क्षेत्रमा र निजी क्षेत्रमा पनि व्यवस्था छ । तर पछिल्ला दिनमा यसरी नै कसैले ५ दिनमा कसैले ७ दिनमा किरिया बस्ने गर्दा कार्यालयहरुले भने कति दिन विदा दिने ? भन्ने अन्योलता केही वर्ष भित्रमा देखा पर्ने निश्चित छ । डाक्टर उपेन्द्र देवकोटाले स्थापना गरेको न्युरो अस्पतालमा कार्यरत कुनै कर्मचारीको मातापिताको निधन भएको बखतमा न्युरो अस्पतालले कति दिन विदा दिने छ ? किनकी संस्थापकको किरिया ७ दिनमा गरियो, संस्थापकले स्थापना गरेको कार्यालयमा कार्यरत कर्मचारीलाई कतिदिन विदा दिने ?

पारिवारिक मिलन
मातापिताको निधनको समय एकातर्फ पारिवारिक विछोडको समय हो भने अर्काेतर्फ अहिलेको सन्दर्भमा पारिवारिक मिलनको अवसर पनि हो । अहिले दाजुभाइ दिदीवहिनीहरु विश्वका विभिन्न देशमा छरिएर बस्ने गरेको र उनीहरुको भेटघाट वर्षाैसम्म नहुने सन्दर्भमा मातापिताको निधनको समयमा अन्त्यकर्मका लागि सबैजना आफ्नो जन्मस्थानमा भेट हुनु आफैमा सकारात्मक पक्ष हो ।

त्यसकारण यसरी वर्षाैपछि भेट हुने दाजुभाइ दिदीबहिनीहरु कम्तिमा पनि १३ दिन सँगै मिलेर मातापिताको मुक्ति र आत्मा शान्तिका लागि एकजुट भएर सहभागी हुन्छन् । यदि ५ वा ७ दिनमा मात्र अन्त्यकर्म सीमित गरेमा यस्तो परिस्थिति सिर्जना हुनसक्छ । साथै कतिपय अवस्थामा दाजुभाई दिदीबहिनीका बीचमा व्यवहारिक जीवनमा तिक्तता समेत हुन्छ । यस्तो तिक्तताका बीच जब मातापिताको निधन हुन्छ, उनीहरु कम्तिमा पनि १३ दिन सँगै हुन बाध्य हुन्छन् । सँगै हुन मात्र होईन, सँगै बसेर कर्म गर्न पनि बाध्य हुन्छ । यसले यो एक बारको जीवन खास केही होईन रहेछ द्धन्द, द्धेष, रिसराग र बोचचाल बन्द गर्नु भन्दा यसलाई सामान्यकरणतर्फ लैजानुपर्छ भन्ने महशुस वृद्धि हुन्छ । कतिपय बोलचाल नै बन्द भएका परिवारका सदस्यहरुबीच किरियामा सँगै बसेपछिबाट फेरि मिलन र सौहार्दता पुनःजीवित भएको प्रशस्तै देखिन्छ समाजमा । त्यसकारण १३ दिने अन्त्यकर्म पद्दतिमा सबै नराम्रै नराम्रो देख्नु एक प्रकारको अतिवादबाट प्रभावित हुनु पनि हो ।

यसरी हेर्दा अन्त्यकर्म पद्दतिमा आएको बेथितीले समाजमा स–साना जस्तो लाग्ने सांस्कृतिक बेथितिको अवस्था निम्त्याउने खतरा देखा परेको छ । यसले एउटा एकरुप सांस्कृतिक नियमको अबलम्बन भन्दा “जे पनि गरे हुन्छ” भन्ने भद्रगोल अवस्था निम्त्याउने छ । यसले न त वैदिक संस्कृतीको जगेर्ना हुनेछ न त समाजका मानिसहरुमा आफ्नो संस्कार प्रतिको गौरवको भाव नै वृद्धि गर्नेछ । अन्त्य कर्मपद्दतिलाई छोट्याउँदै पविर्तनकामी हुनेहरुले पनि यसबारे जिम्मेवार भएर सोच्ने कि ?

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)