विदेशमा रहेका नेपाली नागरिकलाई पनि मताधिकार देउः सर्वोच्च

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरिएको छ । तर यो आदेश नेपाली नागरिकता त्यागेका गैरआवासीय नेपालका लागि भने होइन ।

गैरआवासीय नेपालीले पनि आफूहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गर्दै आएका छन् । न्यायाधीशद्वय मल्ल र भण्डारीको इजलासको पूर्णबाट भएको यो आदेश आइतबार मात्रै सार्वजनिक गरिएको हो । यो आदेश गत चैत ७ गते नै भएको थियो । यति ढिलो आदेश सार्वजनिक गर्नु र गैरआवासीय नेपालीलाई नागरिकता दिनेसम्वन्धी कानुन निर्माण भइरहेको बेला यो विषय बाहिर ल्याउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आदेशमा भनिएको छ, ‘विदेशमा रहेका सबै नागरिकहरुलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नु । नेपाली नागरिकता नत्यागेको र अन्य कुनै पनि देशको नागरिकता नलिएको, मतदानको लागि कानून बमोजिमको उमेर पुरा भै मतदाता परिचय पत्र भएको तथा विदेशमा रहेका नागरिकहरुको सम्बन्धमा कुटनीतिक निकायले तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिहरुलाई एक्सटर्नल भोटिङको लागी योग्य मानी सोही अनुसारको व्यवस्था गर्नु ।’

त्यस्तै, अदालतले कुटनीतिक निकायहरुमा, प्रतिनिधि मार्फत, हुलाक मार्फत वा इलेक्ट्रोनिक भोटिङमध्ये जुन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र गोप्य तरिकाबाट आर्थिक र व्यवस्थापकीय भार बहन गर्न सक्नेगरी कुनै एक व्यवस्था मिलाउन भनेको छ।

Advertisement

Advertisement

Advertisement