नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो ‘डिल’ : होङसी शिवम सिमेन्टलाई जुट्यो १६ अर्ब ऋण

Advertisement

काठमाडौं । चिनियाँ संयुक्त लगानीमा निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी सिमेन्ट उद्योगलाई १६ अर्ब रुपियाँ ऋण प्रदान गर्न पाँच वटा बाणिज्य बैंकहरु सहमत भएका छन् ।

नेपालको बैंकिङ इतिहासमा यति ठूलो लगानीको ‘डिल’ भएको पहिलो पटक हो । यसमा चीनको होङसी होल्डिङ लिमिटेडअन्तर्गतको एक सहायक कम्पनी हङकङ रेड लायन सिमेन्टको ७० प्रतिशत र शिवम सिमेन्ट उद्योग लिमिटेडको सहायक कम्पनी शिवम होल्डिङको ३० प्रतिशत हिस्सा रहेको छ ।

यस परियोजनाका लागि एनएमबी बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले सहवित्तीयकरण कर्जा उपलब्ध गराउन सहमत भएका हुन, जसमा एनएमबीको हिस्सा निकै ठूलो रहेको छ ।

सोमबार आयोजित कार्यक्रममा ऋण लगानीसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । यस परियोजनामा एनएमबीले छ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टले चार अर्ब, प्रभु बैंकले तीन अर्ब, एभरेष्ट बैंकले एक अर्ब २५ करोड र नेपाल एसबिआईले एक अर्ब रुपियाँ कर्जा प्रवाह गर्नेछन् ।

उत्पादनको तयारी अवस्थामा रहेको यस उद्योगले सात बर्षभित्र ऋण चुक्ता गर्ने सहमति जनाएको छ भने बैंक अफ चाइना तथा चाइना मिङसेन बैंकले बैंक सुरक्षणको जमानत दिएको छ ।

विदेशी लगानीका लागि होङसी शिवम सिमेन्टले धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट नौ अर्ब ८२ करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) स्वीकृति लिएको छ । कारखाना पूर्णरुपमा सञ्चालनमा आएपछि यस उद्योगले दैनिक छ हजार टन (एक लाख २० हजार बोरा) पुग्नेछ ।

साथै, उद्योगले आफूलाई चाहिने ५० मेगावाट बिजुलीमध्ये १२ मेगावाट विद्युत आफै उत्पादन सुरु गरेको छ । बाँकी विद्युत सरकारले उपलब्ध गराउने भने पछि अहिलेसम्म १३२ केभी प्रसारण्लाइन बनाउन ढिलो गरेकाले डिजलबाट उद्योग सञ्चालन गरिरहेको यसका सञ्चालकहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement