निर्मला पन्तका बाबु भन्छन्- ठूलै मान्छेबाट हत्या भएकोले दोषी पत्ता लगाउन आलटाल हुँदैछ

Advertisement

उल्टाखाम (कञ्चनपुर) । एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए। नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन् । बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरीले कुनै तथ्य पत्ता लगाउन नसकेको र दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिइनुजस्ता कुराले फेरि न्याय पाउने कुरामा शंका लागेको उनी बताउँछन्।

‘नयाँ प्रहरी टोलीले अनुसन्धान सुरु गरेपछि मलाई दोषी पत्ता लाग्नेमा आशा र विश्वास जागेको थियो,’ उनी भन्छन्, ‘प्रहरी टोलीको पछिल्लो व्यवहारले मैले न्याय पाउँदिन कि भनेर शंका उब्जिएको छ।’ नयाँ टोली आएर अनुसन्धान गर्न थालेको दुईसाता भइसक्दा पनि दोषीबारे कुनै तथ्य फेला पारेको आफूलाई जानकारी नदिइएको उनी बताउँछन्। ‘निर्दोष मान्छेलाई यातना दिएर मैले हत्या गरेको हुँ भन भनेर दबाब दिने, शंकास्पद बम दिदी बहिनीलाई प्रहरीले राम्रोसँग केरकार नै नगुर्नको कारण के हो ?,’उनी भन्छन्, ‘रोशनी बमले प्रहरीमा झुठो बयान दिएकी छन् ।’ खोज्न जाँदा रोशनी बमले ४।५ दिनका लागि भाँसीको घर जान्छु भनेर निर्मला गएकी हो भनेको कुरा जेठी छोरी मनिषाले सुनेको र प्रहरीमा उसले भाँसीको घर गएको पनि हुनसक्छ भनेको हुँ भनेर झुठो बयान दिएको उनको भनाइ छ। ‘प्रहरीले मेरो जेठो छोरी मनिषा बोलाएर उसकैअघि यो कुरा रोशनीलाई सोध्दा उसले झूठो बोलेकी हो,’ उनले भने।

‘निर्दोष मान्छेलाई यातना दिएर मैले हत्या गरेको हुँ भन भनेर दबाब दिने, शंकास्पद बम दिदी बहिनीलाई प्रहरीले राम्रोसँग केरकार नै नगुर्नको कारण के हो ? रोशनी बमले प्रहरीमा झुठो बयान दिएकी छन् ।’

पढ्न गएकी छोरी निर्मलाको हत्या कसले गर्यो भनेर बम दिदीबहिनीलाई थाहा भएको र प्रहरीले राम्ररी अनुसन्धान नगरेकाले नखुलेको उनी बताउँछन्। ‘बम दिदीबहिनीलाई मेरो छोरीको हत्या कसले गर्यो भन्ने थाहा छ,’ उनी भन्छन्, ‘ म अब डराउँदिन। प्रहरीभित्रकै मान्छेले मेरो छोरीको हत्या गरेको हो, त्यही भएर सुरुदेखि अहिलेसम्म दोषी बचाउने खेल भइरहेको छ।’

अघिल्लो दिन साउन ९ गते रोशनी घरमै आएर निर्मलालाई जसरी भए पनि भोलि आउनु भनेर जोड गर्नु, खोज्न जाँदा तपार्इंको छोरी घर नगएको भए पोइल गइहोली भनेर बबिताले भन्नु, दोस्रो दिन बिहान गाउँले कसैको मनमा पनि मरेको शंका नभएका बेला साइकल पाइएकै ठाउँमा लाश पनि होला भन्नुले बम दिदीबहिनीको व्यवहार शंकास्पद लागेको उनी बताउछन।

निर्मला हराएको साउन १० गते साँझ नै वडा नं २ का सदस्य रवीन्द्र तिवारीले वडा प्रहरी कार्यालयका इन्चार्जलाई ४।५ पटक फोन गरेर खोजीदिन आग्रह गरेको, छिमेकी लक्ष्मण भट्टले पनि पटकपटक फोन गरेर आग्रह गरेको र जिप्रकामा समेत फोन गरेर आग्रह गर्दा पनि प्रहरी खोजी दिन नआएको उनी बताउँछन्। राति १२ बजे निर्मलाका आमा दुर्गादेवी पन्त र ६ जना गाउँले स्थानीय प्रहरी चौकीमा खोजी आग्रह गर्न गए। सुतेका प्रहरी उठेर युनिफर्म लगाई खोजीमा निस्कन तयार भएका बेला चौकीका इन्चार्जले जिल्ला प्रहरी कार्यालयमा फोन गरेपछि माथिबाट अनुमति दिएन भनेर नगएको उनी बताउँछन्।

‘पक्की बाटो छेउँमै नभिजेको अवस्थामा फेला परेका कापीकिताब सुघाएर कुकुर परिचालन गरिएमा पनि दोषी पत्ता लाग्न सक्थ्यो,’ उनी भन्छन्, ‘कुकुर पनि ल्याइएन।’ घटनास्थलमा छोरीको सुरुवाल पखाल्नेलगायत प्रमाण नष्ट गरेर छोरीको हत्यारालाई जोगाउने खेल भएको उनको भनाइ छ। ‘शंकास्पद व्यक्तिलाई केरकार गरेको देखिँदैन, उल्टो प्रहरीले हिजो भाँसीको मेरो घरभित्र खानतलास गरेको छ,’ प्रहरीको यो व्यवहारले न्याय पाउनेमा अझ थप शंका उव्जेको छ ।’ मानसिक सुन्तुलन गुमाएका दिलीपसिंह बिष्टलाई नै दोषी ठहर गर्नेमा प्रहरी लागेको उनको आशंका छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत गहनरूपमा अनुसन्धान भइरहेको बताउँछन्।‘ हामी गहनरूपमा अनुसन्धान गरिरहेका छौं, अहिलेसम्म कुनै ठोस कुरा पाइएको छैन,’ उनले भने। बालिका भएकाले रोशनी बमको पोलिग्राफ प्रयोग गरेर सोधपुछ गर्न पाइँदैन । आवश्यक भएमा बबितालाई पोलिग्राफ लगाएर सोधपुछ गर्न सकिने उनी बताउछन।

सुरुमै प्रमाण नष्ट भएकाले अनुसन्धानमा गाह्रो भएको नयाँ प्रहरी टोलीको भनाइ छ। उच्चस्तरिय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले घटनाको सबैपाटोबाट छानबिन गरिराखेको बताएका छन्। सिआइवीका एसएसपी ठाकुर ज्ञवालीको टोली पनि अनुसन्धानलाई सहयोग गर्न महेन्द्रनगर पुगेको छ ।
आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement