काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार सहित २६ जनाको मृत्यु

Advertisement

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा त्यहाँ अभ्यासरत कुस्ती खेलाडीहरुका झोला, कपडा, म्याटहरु रगतमा लतपतिएको विभत्स दृश्य देखिन्थ्यो । मारिएका खेलाडीहरुमा १० वर्षका बालबालिका पनि रहेका थिए ।

क्लबमा शुरुमा गोली चलाउँदै एक आत्मघाती व्यक्ति क्लबभित्र प्रवेश गरेर आफैंलाई बमले उडाएका थिए । त्यसको एक घण्टापछि बिस्फोटक पदार्थले भरिएको कारलाई क्लबको नजिक ल्याएर विस्फोट गराइएको थियो ।

पहिलो आक्रमणमा मारिएका र घाइते भएकाहरुको उद्धार गर्न र समाचार सङ्कलनमा पुगेका उद्धारकर्मी र पत्रकार समेत आक्रमणको चपेटामा परेका थिए ।

दोस्रो आक्रमणबाट अफगानिस्तानको सबैभन्दा ठूलो निजी प्रसारण संस्था टोलो न्यूजमा कार्यरत दुईजना पत्रकारको मृत्यु भएको थियो । अरु चारजना सञ्चारकर्मी घाइते भएका थिए ।

‘जताततै मृत्यु भएका र घाइते भएकाहरु देखिन्छन्,’ १४ वर्षका कुस्ती खेलाडी सइद रोहुल्लाले बताए । अली सीनाले क्लब बाहिर गोलीको आवाज सुन्नेबित्तिकै खेलाडीहरु क्लबको बीच भागमा भेला भएको जानकारी दिए । अलीले आत्मघाती व्यक्ति क्लबभित्र छिरेको देखेकै थिएनन् ।

यो आक्रमणका लागि इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । अफगान स्वास्थ्य तथा गृहमन्त्रालयले यस आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ ।

माइवान्ड क्लबका व्यवस्थापक पहलवान शीरले मृत्यु हुने व्यक्तिहरुको संख्या अरु बढ्न सक्ने बताउनुभयो । आक्रमणका समयमा क्लबभित्र कम्तीमा १५० व्यक्ति अभ्यासरत रहेको उहाँले बताउनुभयो । उनले भने, ‘कतिपय मानिसले आफ्ना दिवंगत व्यक्तिलाई घर लगिसके । म अझै पनि हराइरहेका विद्यार्थी र प्रशिक्षकको खोजी गरिरहेको छु ।’

शिते समुदायमाथि अगष्ट १५ मा पनि डरलाग्दो आक्रमण गरिएको थियो । शैक्षिक केन्द्रमा भएको त्यस आक्रमणमा एक दर्जनभन्दा बढी विद्यार्थीको मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement