‘नालायक प्रहरीले संगठन नै बदनाम भयो, तर निर्मलाका हत्यारा जोसुकै होउन, कारवाही गरेरै छाड्छु’

sarbendra-khanal-igp

महेन्द्रनगर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर महुलिया, उल्टाखामकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै त्रुटी गरेको स्वीकार गरेका छन्। महेन्द्रनगरमा शुक्रबार आयोजित कार्यक्रममा उनले केही प्रहरीले अनुसन्धानमा त्रुटी गरेको स्वीकार गरेका हुन ।

‘महिला हिंसा न्युनिकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा : नेपाल प्रहरीको जवाफदेहिता’ बिषयक कार्यक्रममा खनालले उक्र घटनाको अनुसन्धानमा त्रुटी भए पनि संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

उनले कुनै निर्दोष व्यक्तिलाई कञ्चनपुर घटनामा यातना दिएर सकार्न नलगाइने बताए । खनालले नालायक प्रहरीले सम्पूर्ण संगठनलार्इ नै बदनाम बनाएको बताउँदै हिंसाका घटनाको समाधान मिलापत्रमार्फत खोज्न नहुने बताए ।

महानिरीक्षक खनालले निर्मला पन्तको घटनामा भिआईपी र भिभिआईपी जो कोही भएपनि कानुनी कठघरामा उभ्याउने बताए। उनले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिँदै यसबाट आफू निकै दुखित भएको सुनाए ।

प्रहरी संगठनप्रति अहिलेसम्म यस्तो आरोप नलागेको खनालको भनाई छ । उनले अनुसन्धान टोलीलाई सबैले सहयोग गर्न आग्रह गर्दै संगठन प्रमुखका हैसियतले यस्ता घटनामा कसैको ‘पावर’ नमान्ने स्पष्ट पारे । यो घटनामा संलग्न आफ्नै संगठनको जो कोहि भएपनि त्यसलार्इ कार्वाही हुने खनालले बताए।

गत साउन १० गते साथी रोशनी बमले बोलाएर उनको घरमा गएकी निर्मला पन्त बेपत्ता भएकी थिइन । भोलिपल्ट उनको लाश उखुबारीमा भेटिएको थियो । घटनामा संलग्न रहेको ठानिएका बम दिदीबहिनी रोशनी र बबितालाई थुनामा राखेर बयान लिने काम भइरहेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए।

बिहीवार महेन्द्रनगर पुगेका महानिरीक्षक खनालले साँझ निर्मलाका परिवारसँग भेट गरेका थिए। समय लागेपनि हत्यारा पत्ता लगाई छोड्ने उनले परिवारसामु प्रतिबद्धता जाहेर गरेको निर्मलाका बुबा यज्ञराजले बताए।