दरभन्दै विषाक्त खाना खुवाउँदा चारसय बिरामी, तर दर खुवाउने सहकारीलाई कारवाही नहुने

Advertisement

काठमाडौं । झण्डै चारसय बिरामी पर्नेगरी दरको नाममा विषात्त खाने कुरा खुवाउने काभ्रे पाँचखालको ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थालाई कारवाही गर्न नसकिने सहकारी विभागले स्पष्ट पारेको छ ।

घटना हुनुमा सहकारीको दोष नभई खाना बनाएर खुवाउने क्याटरिङ वा व्यक्तिको दोष हो भन्दै विभागका सुचना अधिकारी नारायण अर्यालले गुणस्तरहिन खाना खुवाउनमा संस्थाको दोष नभएको तर्क गरे । विभागका रजिष्ट्रार केशव रेग्मीले यस विषयमा बुझेर मात्रै बोल्ने भन्दै चर्किए भने सुचना अधिकृत अर्यालले यस घटनामा संस्थाको कुनै दोष नभएको जिकिर गरे ।

साधारणसभादेखि बार्षिकोत्सव, जीत, नयाँ बर्ष जस्ता अवसरका नाममा सहकारी संस्थाहरुले भोजभतेर, भ्रमण, पिकनिकका नाममा फजुल खर्च गर्ने गरे पनि विभागले यसलाई नियन्त्रण गर्न सकेको छैन । सुचना अधिकारी अर्यालले अरु कार्यक्रममा सदस्यहरुको बिना सहमति फजुल खर्च गर्न नपाइएने भए पनि साधारणसभामा भने खर्च गर्न पाइने बताए ।

उनले पाँचखालको घट्नामा खाद्यान्नको गुणस्तर हेर्ने सम्वन्धित निकायले छानविन गरी दोषीलाई कारवाही गर्न सक्ने तर संस्थालाई कारवाही गर्न नमिल्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिए । गुणस्तर र सरसफाइतर्फ ख्याल नगरी दर खुवाउने संस्थाका पदाधिकारी पनि कारवाही गरिनुपर्ने सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आइरहेका छन् ।

पाँचखालको तीनघरेमा बिषात्त दर खाएका महिला, बालबालिकासहित शनिबार बिहानदेखि बिरामी पर्न थालेका थिए । बिरामी पर्नेको संख्या अहिले झण्डै चारसय पुगिसकेको छ । दरमा पुलाउ, पनिर, केराउ, मुला, गाँजरको अचार र पानी खाएका उनीहरुलाई झाडाबान्ता हुन थालेपछि अस्पताल दौडाउन सुरु भएको थियो ।

बिरामीमध्ये केहीलाई आइसीयूमै राखेर उपचार भइरहेको छ । अधिकांशको काभ्रेकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने केहीलाई काठमाडौं रिफर गरिएको छ । काभ्रेका अस्पतालहरुमा बेड नपुगेपछि एउटै बेडमा दुई जना र जमिनमै राखेर पनि उपचार भइरहेको छ । फुड प्वाइजनको अनुसन्धान गर्न प्रहरीले खानेकुरा र पानीको परीक्षण गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement