उर्जा क्षेत्रमा चीनसँग भएका सहमती कार्यान्वयन गर्न नेपाल-चीन उर्जा संयन्त्रको बैठक बस्ने

Advertisement

काठमाडौं । नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकका लागि मिती तय भएको छ । गत जुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच भएको उर्जा सम्झौता कार्यान्वयन गर्न नेपाल–चीन बैठक बस्न लागेको हो ।

प्रधान मन्त्रीको उक्त भ्रमणका क्रममा नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका उर्जामन्त्री नुर बेक्रीले उर्जा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीअनुसार दुवै देशले उर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो । नेपालले उक्त सम्झौताअनुसार नै सात सदस्यिय संयन्त्र निर्माण गरेको छ । संयन्त्रको सहअध्यक्षमा उर्जा सचिव अनुप कुमार उपाध्याय रहेका छन् ।

समितिमा उर्जा महाशाखा हेर्ने सह–सचिव, उर्जाकै कानुन हेर्ने सहसचिव,परराष्ट्रमन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव,विद्युत विकास विभागका महानिर्देशक, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र उर्जामन्त्रालयकै सिडिई बावुराम अधिकारी सदस्य सचिव रहेकाछन् । उर्जामन्त्री पुनले चीनसंग भएका सहमतीलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउन निर्देशन दिएपछि त्यसको मिति समेत तय भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमती जनाइसकेको छ । दुवै पक्षको सहमतीअनुसार आगामी सेप्टेम्बर २७ र २८ तारिखमा संयन्त्रको पहिलो द्धिपक्षीय बैठक काठमाडौंमा हुने टुंगो लागेको छ । यसैबीच चिनिया पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसंग आग्रह गरेको छ । उर्जामन्त्री बर्षमान पुनसहित उर्जामन्त्रालयका उच्च अधिकारी सम्मेलित आईतबार बसेको बैठकले चीनलाई पठाउने एजेण्डा समेत तय गरिसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकमा नेपाल–चीन अन्र्तदेशिय प्रशारण लाइन र ग्रिड कनेक्सन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र उर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल हुने बताइएको छ ।
त्यसैगरी गत २१ जुनमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र छ वटा प्रशारण लाइनलाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने उर्जामन्त्रीका पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

उर्जामन्त्री पुन त्यसलगत्तै चीन भ्रमणमा जाने कार्यसुची समेत रहेको मन्त्रालय स्रोतले जनाएको छ । चिनिया समकक्षी नुर बेक्रीको निमन्त्रणामा मन्त्री पुन आगामी अक्टोबरमा चीन जाने कार्यक्रम रहेको जनाइएको छ । उनले चीन भ्रमणको क्रममा आफ्ना चिनिया समकक्षीसंग द्धिपक्षीय वार्ता गर्नुका साथै ‘वेल्ट एण्ड रोड इनर्जी मिनिस्ट्रियल कन्फ्रेन्स’ मा समेत भाग लिने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement