जम्मा एक प्रतिशतसँग गाडि छ, कसरी गाडि धेरै हुन्छ ? बाटो कम भएको होः दुलाल

Advertisement

काठमाडौं । भदौ २६ गतेदेखि सुरु हुने नाडा अटो शो २०१८ को तयारी पूरा भएको आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले जनाएको छ । रिपोर्टर्स क्लबमा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले छ दिनसम्म चल्ने यस मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन ।

अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने, ‘चार महिनामा हुने कारोबार छ दिनभित्र हुने पाँच अर्ब रुपियाँडको कारोबार हुने हामीले अनुमान गरेका छौं, ७१ वटा संस्थाहरुको उपस्थितिमा १३५ वटा स्टल रहेनछन् ।’

नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको उनको भनाई छ । दुलालले भने, ‘आजको दिनमा पनि एक प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ । त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो ।’

उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव समेत दिएका छन् । दुलालले भने, ‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन्। अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन । सरकारले काठमाण्डौ उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ। आयात कम गर्नुपर्छ भनिरहेको छ । त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन। आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो ।’

उनले थपे, ‘सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्छ । सडकको स्तरोन्नति गर्नुपर्छ । गाडी बेच्ने र किन्ने मात्रै हाम्रो लक्ष्य होईन, सडकको वातावरण पनि स्वच्छ हुनुपर्छ भन्ने हो । गत वर्ष मेलामा मात्रै झन्डै साढे तीन अर्ब रुपियाँको कारोबार भएको थियो । सवारी साधनसम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने यस मेलालाई गाडीहरुको ‘कुम्भ मेला’को रुपमा समेत लिने गरिन्छ, यसै फोरमबाट सबैलाई मेलाको अवलोकन गर्न आग्रह समेत गर्दछु ।’

सरकाले उठाउने सम्पूर्ण करमध्ये ३५ प्रतिशत नाडाले तिर्ने गरेको बताउँदै दुलालले भने, ‘आजको दिनमा पनि एक प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ । त्यसैले गाडीको संख्या धेरै भएको होईन, सडक कम भएको हो । वातावरण छैन् । कर र भन्सारको कारणले गर्दा जनताहरुको पहुँचभन्दा बाहिर छ । १० लाखमा राम्रो गाढि किन्न सकिने स्थिति आयो भने ५० प्रतिशत जनताले गाढि चढ्नेछन ।’

एशोसियशनका महासचिव सुनिल रिजालले पनि नेपालमा गाडीहरुको संख्या सडकको क्षमता भन्दा धेरै भयो भन्ने सरकारी तर्क नै ठिक नभएको दाबी गरे । उनले थपे, ‘नेपालमा नै गाडी उत्पादन गर्ने बिषयमा सरकार पनि गम्भीर हुनुपर्यो । उद्योगधन्दा स्थापना गर्ने वातावरण बनाउनुपर्यो । उद्योग खोल्ने वातावरण अहिले नै बनिसकेको छैन । मोटर साईकल, टायरजस्ता उद्योगहरु स्थापना भईसकेका छन् । गाढिको पनि हुन्छ, त्यो केही समय लाग्छ ।’

Advertisement

Advertisement

Advertisement