सरकारमा बसेर उपप्रधानमन्त्रीको पार्टी संविधान दिवस बहिस्कार गर्दै

Advertisement

काठमाडौं । संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ ।

संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् ।सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा र फोरम प्रदेश २ सरकारमा छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेश सरकार भने संविधान दिवसको भव्य तयारीमा छन् । सरकारको नेतृत्व गरेका यी दुई दल भने विरोधस्वरूप कालो दिन घोषणा गरेर अघि बढेका छन् ।

प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ३ असोजमा मधेसमा विरोध कार्यक्रम गर्ने भएपछि त्यहाँ संविधान दिवस अन्योलमा परेको छ । संविधान संशोधनको माग गर्दै विगतमा आन्दोलन गर्दै आएका दुवै दलले अहिले पनि दबाब दिँदै आएका छन् ।
आजको राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement