अब सञ्चय कोषको वित्तीय सेवा राष्ट्रिय वाणिज्य बैंकबाट नै प्राप्त हुने

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच कोषका सञ्चयकर्तालाई सेवा दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका प्रशासक तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात कोषमा सञ्चय गर्दै आएकाहरुले कोषमार्फत लिने कर्जा सापटी, कोषको रकम भुक्तानी, विशेष सापटी तथा अन्य भुक्तानीहरु जस्ता कारोबारका लागि वाणिज्य बैंकको कर्पोरेट इन्टरनेट बैंकिङ डिजिटल सेवामार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको सञ्चयकर्ताको खातामा सिधै रकम जम्मा हुने भएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दुई ठूला वित्तीय कारोबार गर्ने सरकारी संस्थाहरुबीच भएको यस सम्झौताबाट सञ्चयकर्तालाई अझ सुलभ र प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्न सकिने बताए ।

त्यस्तै कोषका प्रशासक गौतमले हाल कोषमा करिब छ लाख सञ्चायकर्ता रहेको र देशकै ठूलो बैंक र फण्ड मेनेजरबीचको यस सम्झौताले वित्तीय क्षेत्रको सेवा प्रवाहमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए ।

बैंकले हाल दुई सय छ वटा शाखा कार्यालयहरु, एक सय ३५ वटा एटीएम तथा ९३ वटा शाखारहित बैंकिङ इकाईहरुमार्फत मुलुकभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement