निर्मलाका बाबुआमा अघि मन्त्री थापाले भने- दोषीहरु पहिचान नहुँदा सबैभन्दा असन्तुष्ट म छु

Advertisement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई भेटी आफ्नो छोरीको बलात्कार र हत्यामा संलग्नहरुलाई चाँडै पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

मानवअधिकारकर्मी महिलाहरुसहित गृह मन्त्रालय पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीले मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए । थापाले निर्मलाको हत्यामा संलग्नहरुको नजिक सरकार पुगेको बताउँदै हत्यामा संलग्न जोकोहीलाई पनि सरकारले नछोड्ने बताए ।

उनले भने, ‘यो जघन्य अपराध हो। यो घटनाप्रति राष्ट्र नै चिन्तित छ। हामीले अपराधिलाई कठघरामा उभ्याउन सकेका छैनौँ। तर हामी अपराधीलाई कठघरामा ल्याउन सक्रिय छौँ । प्रहरीको टोलीले काम गर्न नसकेपछि हामीले उच्चस्तरीय छानबिन समिति बनाएर काम अगाडि बढाएका छौँ।’

गृहमन्त्री थापाले त्यसो भन्दा नेपाल प्रहरीका महानिरीक्षक र गृहसचिव पनि सँगै थिए । उनले पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताए ।

थापाले भने, ‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला जस्तो मलाई लाग्छ । कञ्चनपुर घटनामा हामीले सुरुदेखि नै ध्यान दिएका हौ। घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौं । त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं । त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरिएकोछ। समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ।’

घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिइने भन्दै मन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए।

Advertisement

Advertisement

Advertisement