कंसाकारलाई हटाउने र खरेललाई कार्यकारी बनाउने पर्यटनमन्त्रीको तयारी

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले राजीनामा दिन अस्वीकार गरेपछि उनलाई दबाबमूलक ढंगले हटाएर सो ठाउँमा मदन खरेललाई ल्याउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले उपाय निकालेका छन् ।

यसअघि केही समय निगमको कार्यकारी निर्देशकको स्वाद चाखिसकेका मदन खरेलले फेरि आउने रहर गरेका हुन । कंसाकारले निगमका लागि वाइडवडी तथा न्यारो बडीका नयाँ जहाज थपेपछि खरेलले पुनः आउने रहर गर्नु र अधिकारीलाई कंसाकार हटाउन इच्छा देखिनुले यसअघि केही रहस्य रहेको हुनसक्ने विश्लेषकहरुको भनाई छ ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा नेपाल वायुसेवा निगमको संचालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

खरेललाई तत्काल सञ्चालक समिनित सदस्यमा नियुक्त गरिए पनि हाल पर्यटन मन्त्रालयका सचिवले निर्वाह गर्दै आएको अध्यक्षको ठाउँमा खरेललाई कार्यकारी अधिकारसहित ल्याउने योजना रहेको बताइएको छ । कंसाकारलाई हट्न मन्त्री अधिकारीले बारम्बार दबाब दिँदै आए पनि उनले आफु खुला प्रतिस्पर्धाबाट आएकोले पूरा समय काम गर्न दिन आग्रह गर्दै आएका थिए ।

कंसाकारले नमानेपछि उनीविरुद्ध सार्वजनिक लेखा समितिमा वाइडबडी जहाज खरिदसम्वन्धी उजुरी हाल्न लगाइ छानविन अघि बढाइएको छ । कंसाकारको अवधि अझै करिव एक बर्ष बाँकी छ । उनले आफ्नो कार्यकालमा अझै दुई वटा न्यारोबडी जहाज थप्ने योजना बनाइरहेका थिए ।

Advertisement

Advertisement

Advertisement