दशैं नजिकिएसँगै खानेपानी फ्याक्ट्रीमा पनि अनुगमन, चार ट्याङकर नियन्त्रणमा

water-tanker

काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौ उपत्यकामा सञ्चालित विभिन्न खानेपानी फ्याक्ट्रीमा अनुगमन गरेको छ । काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहालको नेतृत्वको एक टोलीले चावहिल जोरपाटी क्षेत्रमा रहेका खानेपानी उत्पादन, प्रशोधन र पूर्ति गर्ने विभिन्न कम्पनीहरुमा अनुगमन गरेको हो ।

टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कृष्ण र गंगा खानेपानी उद्योगमा दर्ताको प्रमाणपत्र नराखेको पाइएको छ । ति उद्योगका सञ्चालकलाई सात दिनभित्र कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर दाहालले जानकारी दिए ।

अनुगमनको क्रममा टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ । जोरपाटी क्षेत्रबाट स्टिकर नराखेका ट्यांकरहरुलाई नियन्त्रणमा लिएको हो ।

खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयका अधिकारीहरुले शनिबार बिहानदेखि काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रमा अनुगमन जारी राखेका छन् । अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच टोली परिचालित छन् । मन्त्री बिना मगर नेतृत्वको टोलीले ललितपुरमा अनुगमन गरिरहेको बताइएको छ ।