सञ्चयकोषलाई पूँजी बजारको प्रमुख खेलाडी बन्न अर्थमन्त्रीको आग्रह

Advertisement

काठमाडौं । कर्मचारी सञ्चयकोषले आइतबार आफ्नो स्थापनाको ५७ औ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

कोषले आइतबार आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । उनले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूँजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरे ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालिन ब्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । उनले कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेरमात्र निर्णय गर्नुपर्ने बताए ।

कोषले २५ वर्ष र १५ वर्ष सेवा गर्ने तीन जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको छ । त्यस्तै कोषले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका सन्ततिलाई पनि पुरस्कृत गरेको छ ।

सञ्चयकोषमा हाल छ लाख सञ्चयकर्ताहरुको करिब तीन सय अर्ब बराबरको वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी छ सय ८८ मेगावाट क्षताको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।

Advertisement

Advertisement

Advertisement