मुख्यमन्त्री नै भन्छन्– प्रदेश सरकार अझै अन्योलमै छ, व्यवसायीको प्रश्न– अझै कति अलमल ?

Advertisement

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अझै पनि अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले जनशक्ति, नीति, स्रोतसाधन र अनुभव पनि कम रहेकोले प्रदेश सरकार आजसम्म अन्यौलपूर्ण अवस्थामा रहेको बताए ।

प्रदेश सरकारले उद्योग–व्यवसायमैत्री नीति र ऐन ल्याउन योजना बनाइरहेको भन्दै पौडेलले निजी क्षेत्र हतोत्साही हुनु जरुरी नरहेको बताए । उक्त अवसरमा उनले केन्द्र सरकार र स्थानीय सरकारको लामो प्रशासनिक अनुभव भएको तर प्रदेश सरकार नयाँ भएकोले अन्यौलमा परेको बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले ३ नं. प्रदेश उद्योगहरुको क्षेत्रमा अग्रस्थानमा रहेको र सेवा तथा पूर्वाधारसमेत अन्य प्रदेशको तुलनामा सुविधा युक्त रहेको बताए । उनले त्यसको आधारमा यो प्रदेशको आर्थिक समृद्धिको यथेष्ट सम्भावना भएकोले पाँच वर्षमा चार हजार डलर प्रतिव्यक्ति आय बनाउने गरी काम गर्न उद्योगमैत्री वातावरण तयार गर्नुपर्ने बताए ।

चितवनको शक्तिखोरलाई संघीय सरकारले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको हुँदा उक्त क्षेत्रको व्यवस्थापनमा ३ नं. प्रदेशको भूमिका समेत रहने गरी सहकार्य गर्नुपर्ने बताउँदै शर्माले उक्त औद्योगिक क्षेत्र विश्वस्तरीय हाइटेक औद्योगिक पार्कको रुपमा निर्माण गरिनुपर्ने बताए ।

साथै उक्त क्षेत्रमा उच्चस्तरिय प्राविधिक विश्वविद्यालय समेत खोल्न समेत उनले सल्लाह दिए । कार्यक्रममा ३ नम्बर प्रदेशका मन्त्री, साँसद, प्रदेश नीति तथा योजना आयोगका सदस्य, सरकारी पदाधिकारीहरु र उद्योगी–व्यवसायी सहभागी थिए । व्यवसायीहरुले आर्थिक विकासलाई गति दिन ढिलो भइसकेको भन्दै अब अलमल नगर्न प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई सल्लाह दिएका थिए ।

व्यवसायीले द्धन्द्ध र राजनीतिक संक्रमणका नाममा नेपालले लामो समय खेर फालिसकेकोले अब समय खेर फाल्ने बेला छैन भन्दै निजी क्षेत्रलाई थप करको भार पार्ने, दोहोरो कर लगाउने, लगानी प्रतिकुल कानुनहरुमा सुधार नगर्ने हो भने उद्योगधन्दाको विकास नहुने र आर्थिक संवृद्धिको लक्ष्य हासिल नहुने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement