प्रधानमन्त्रीलाई भेट्न निर्मलाका बाबुआमा आएको बेला बालुवाटारमा भनाभन

Advertisement

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् ।

तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्ष समितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो ।

बालुवाटारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रसाद भट्ट तथा कांग्रेस नेता एनपी साउद र दिलेन्द्र बडूलगायत थिए । बैठकको सुरुवात गदै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन् ।

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । उनले अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे ।

साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनु पर्ने माग राखिन् । उनलाई बोल्ने समय दिइयो । भण्डारीले आफ्नो भनाइका क्रममा भीम रावलको अभिव्यक्तिले जनता आक्रोशीत भएको बताउनासाथ रावलले उनलाई रोके ।

रावल बोलिरहेकै बेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले । त्यसपछि वातावरण उत्तेजित भयो । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके । स्थिति शान्त बनाउँदै प्रधानमन्त्रीले बोल्न थाले ।
आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement