सिक्टा सिंचाईमा भएको भ्रष्टाचारमा कर्मचारीहरुसँग बयान लिन सुरु

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे सम्वद्ध कर्मचारीहरुसँग बयान लिन थालेको छ । एक दशकभन्दा लामो समय लगाएर बनाइएको नगर सुरु नहुँदै भत्किन थालेपछि निर्माण कम्पनी र सम्वद्ध निकायहरुको चर्को आलोचना भइरहेको छ ।

अबौं रुपियाँ खर्च गरी बनाइएको आयोजना गुणस्तरहीन रहेको र ठूलो आर्थिक अनियमितता भएको आशंका गर्दै अख्तियारले छानविनका क्रममा कर्मचारीहरुसँग बयान सुरु गरेको हो ।

निकै चर्चामा रहेर पनि अहिलेसम्म जनताले लाभ लिन नसकेको सिक्टा सिंचाईबाट पानी आएर धान धेरै फलाउने किसानको चाहना अपूरै रहेको छ । विभिन्न खण्डमा निर्माण गरिएको नहरको केही खण्ड कामै नलाग्नेगरी भत्किन थालेपछि यसमा निकै ठूलो आर्थिक अनियमितताको रहस्य बाहिर आएको हो ।

पछिल्लोपटक गत साउन ७ गते परीक्षणका क्रममा बाँकेको ढकेरीस्थित चंगाई नाला नजिकैको मूल नहर नै फुटेर पानी बाहिर गएको थियो । त्यसबाहेक नगरको दुई तर्फको ढलान पनि आफै फुट्दै जान थालेसँगै नहरमा पानी सञ्चालन गर्नै जोखिम उत्पन्न भएको छ ।

सिक्टामा हेडवक्र्ससहित मूल नहर निर्माणका लागि हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छभने तीन अर्ब रुपियाँ हाराहारीमा पूर्वी खण्डको मूल नहर बनाउने क्रम जारी छ ।

पश्चिम खण्डको सबै ४५ किलोमिटर लामो मूल नहरको निर्माण सकिएपछि आयोजनाले दुई वर्षयता मूल नहर परीक्षण गर्दै आएको छ। ५० क्युमेक्स पानी अट्ने गरी निर्माण गरिएको सिक्टाको मूल नहरमा चारपाँच क्युमेक्स पानी छाड्नेबित्तिकै भत्कन्छ। गत साउन ७ गते परीक्षण गर्दा मूल नहरमा चार क्युमेक्स मात्र पानी छाडिएकोमा त्यही पानीले नहर फुटेपछि नहर गुणस्तरहीन रहेको तथ्य बाहिर आएको हो ।

Advertisement

Advertisement

Advertisement