विप्लवदेखि मधेसी दललाई लक्षित गर्दै ओलीले भने- अब आन्दोलन होइन विकासमा लाग्नुस्

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ लाग्न आग्रह गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारीसमेत सहभागी संविधान दिवसको अवसरमा सरकारले टुँडिखेलमा बुधबार बिहान आयोजना गरेको कार्यक्रममा उनले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने कुनै पनि जबर्जस्तो स्वीकार्य नहुने बताउँदै विकासमा सहयोगी भावनाका साथ लाग्न आग्रह गरे ।

संविधानले सबै नागरिकलाई अधिकार दिएकोले अब अधिकारप्राप्तिका नाममा हुने जबर्जस्ती स्वीकार नहुने ओलीको भनाई छ । उनको भनाई आन्दोलनरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीदेखि मधेसी दलहरुसम्म लक्षित देखिन्थ्यो ।

ओलीले भने, ‘अब अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने अनुचित क्रियाकलाप वा जबर्जस्ती स्वीकार्य छैन अब हुने आन्दोलन विकास र समृद्धिका लागि हुनुपर्छ जसको उद्देश्य नागरिकमा दायित्ववोध गराउने हुनुपर्छ।’

संविधानले लोकतन्त्रका सबै विश्वव्यापी मान्यता संस्थागत गरेको उल्लेख गर्दै ओलीले सबैखालका आर्थिक शोषण, असन्तुष्टि र विद्रोहका स्वरहरूलाई संविधानले सम्बोधन गरेको जिकिर गरे ।

काँग्रेसतर्फ लक्षित गर्दै ओलीले तीब्र विकास चाहने र बिस्तारै चल्न खोज्नेबीचको बेमेलले परिणाम देखिने गरी काम गर्न नसकिएको गुनासो गरे । उनले भने, ‘अलमल भइहाल्छ नि भनेर सुस्तरी चल्ने वा तीब्र विकास गर्ने भन्नेबीचको बेमेलले परिणाम देखिन नसकेको हो भन्ने मलाई लाग्छ ।’

ओलीले थपे, ‘समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत÷पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ । हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ ।’

आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै उनले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए ।

Advertisement

Advertisement

Advertisement