वामपन्थी समूहबाट निर्माण व्यवसायीको नेतृत्व गर्न अघि सरे कार्की, ५१ बुँदे प्रतिवद्धता प्रस्तुत

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वको दावी गर्दै यक्षध्वज कार्की फेरि अघि सरेका छन् । यसअघि महासंघको अध्यक्ष भइसकेका कार्की वामपन्थी समूहबाट अध्यक्षको एक मात्रै दावेदार हुन ।

उनले आफनो उम्मेदवारी घोषणा गर्दै ५१ बुँदे प्रतिबद्धता बुधबार सार्वजनिक गरेका छन् । आफू महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखि नै व्यवसायीहरुको हकहित र गरिमाका लागि निरन्तर लागिपरेको कार्कीको भनाई छ ।

अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भइरहेको सुनाउँदै उनले भने, ‘महासंघको उद्देश्यमा नै धक्का पुग्ने अवस्था भएकोले आफू पुनः अध्यक्षमा उठेको बताए । समयमै काम सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्ने कार्कीको जिकिर छ ।

उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको तर्क अघि सारे । कार्कीले भने, ‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’ उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो नरहेको बताए ।

कार्कीले भने, ‘क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो । बाह्र हजार पाँच सय प्रतिनिधि साथीहरु हुनुुहुन्छ, उहाँहरुको मतले म जित्नेछु ।’

उनले पिछडिएको क्षेत्र, मधेश, जनजाति, विकास क्षेत्र (हाल प्रदेश), जिल्लाको प्रतिनिधित्व हुनेगरि नेपाल निर्माण व्यवसायी महासंघको विधान संशोधनको लागि महत्वपूर्ण भूमिका खेलेको, प्रचलित बोलपत्रमा भएका प्रावधानलाई सरलीकरण गर्न सफलता प्राप्त गरेको (जसमा टर्नओभर २.५ गुणाबाट १.५ गुणामात्र कायम भएको, सेम नेचर सर्टिफिकेट १०० प्रतिशतबाट ८० प्रतिशतमा कायम भएको, र सेम नेचर सर्टिफिकेट ३ वटा चाहिनेमा १ वटा भए पुग्नेगरि कायम भएको), निर्माण दिवस मनाउने र एफक्यान अवार्डको सुरुवात गरेको कुरा सुनाए ।

कार्कीले आफूले योग्य, सक्षम र क्षमतावान साथीहरुलाई समेटेर चाँडै टिम खडा गर्ने पनि जानकारी दिए । उनले भने, ‘आज मेरो मात्रै उम्मेदवारी घोषणा भएको छ । अब सबै पक्षसँग छलफल गरेर हामी हाम्रो टिम घोषणा गर्छौं । अहिले हामी छलफलमै व्यस्त छौं ।’

तत्कालिन एमालेबाट सांसदसमेत बनेका निर्माण व्यवसायी जनार्दन ढकालले कार्की महासंघको लागि सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उनको जीत सुश्चित् रहेको जिकिर गरे । उनले भने, ‘सार्वजनिक खरिद नियामावली हामीले संशोधन गर्न सकेनौं । अब, कार्कीजीले यसको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

ढकालले आफ्नो समूहको जीत सुनिश्चत भएपनि आफूलाई लोकतान्त्रिक भन्ने शक्तिहरु बढि पैसामा चलखेल गर्ने भएकोले सचेत रहनुपर्ने आरोप लगाए ।

Advertisement

Advertisement

Advertisement