गोकर्णेश्वर महादेव मन्दिरपारिको जङ्गलबाट दक्षिणढोका हुँदै थली पुग्ने बाटो खोल्न माग

Advertisement

काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिरपारिको जङ्गलबाट दक्षिणढोका हुँदै थली पुग्ने बाटो खोल्न स्थानीयवासीले माग गरेका छन् । चार किमी लामो यो सडक खोलिए गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ ।

विसं २०६३ अघि राजदरबारको नाममा रहेको गोकर्ण जङ्गल त्यसपछि नेपाल ट्रस्टको कार्यालयअन्तर्गत राखिएको थियो । गोकर्ण–अत्तरखेल हुँदै जोरपाटी सडक साँघुरो खाल्डाखुल्डी छ । गोकर्णेश्वर महादेव मन्दिरमाथिको सडक सम्पदाका कारण बढाउन सकिने अवस्थामा छैन ।

जङ्गलभित्र पहिल्यैदेखि सडक छ । सडकसँगै पर्खाल लगाएर घेरिएको छ । पर्खाल ठाउँठाउँमा भत्किएको छ । कतै तार काँडाले बारिएको छ । पर्खाल जीर्ण भएकाले बनाउनुपर्ने अवस्थामा रहेकाले नयाँ पर्खाल सडकबाहिर पारेर बनाउन ट्रस्टको कार्यालयलाई अनुरोध गरिएको गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले राससलाई जानकारी दिए ।

स्थानीयवासीका तर्फबाट तीन वर्षअघि देखि नै यो प्रस्ताव राखिए पनि कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएपछि यो मुद्दा उठाइँदै आएको उनले सुनाए ।

सडक साँघुरो भएकै कारण एक साताअघि भएको दुर्घटनामा घाइते भएका स्थानीयवासी बलराम कारञ्जीत हाल नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत छन् । यस्ता दुर्घटना यो सडकमा दैनिकजसो हुने गरेको छ ।

‘नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ९४० मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति सरकारको मातहतमा ल्याई ट्रस्ट बनाएर राष्ट्र हितमा प्रयोग गरिनेछ’ भन्ने वाक्यांशबमोजिम यो कार्यालय स्थापना भएको हो । जनहित नै राष्ट्र हित भएकाले यो सडक खोल्नुपर्ने उपप्रमुख नेपालको भनाइ छ ।

गोकर्णमा १३ वटा कित्तामा तीन हजार ९७१ रोपनी तीन पैसा तीन दाम जग्गा ट्रस्टको नाममा छ । यसैभित्र गोकर्ण फरेस्ट रिसोर्ट र गल्फ क्लब सञ्चालनमा छ । नगरप्रमुख सन्तोष चालिसे एक हजार जना स्थानीयवासीको हस्ताक्षरसहित सडक खुलाउन सबै राजनीतिक दलको सहमतिमा ट्रस्टको कार्यालयमा पत्राचार गरिएको बताए ।

ट्रस्ट सञ्चालक समिति अध्यक्षसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले पनि प्रस्ताव मन्त्रिपरिषद्मा लगी सडक खुलाउने वचन दिएको उनले सुनाए ।

Advertisement

Advertisement

Advertisement