सरकारले असोज दोस्रो सातादेखि मुलुकभर ४२ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने

Advertisement

काठमाडौं । सरकारले आगामी असोज दोस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मुलुकभर ४२ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

यस्ता सुपथ मूल्य पसलबाट उपभोक्ताहरुले चामल, नून, घिउ, पनिर, चिनी, दाल, गेडागुडीलगायत वस्तुहरु सस्तो मूल्यमा पाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सरकारले विभिन्न वस्तुहरुको सुपथ छुट रकमसमेत सार्वजनिक गरेको छ । जसअनुसार मोटा चामलमा प्रतिकिलो पाँच रुपियाँ, बासमती चामलमा प्रतिकिलो १० रुपियाँ, नूनमा दुई रुपियाँ, डीडीसीको घिउमा ५० र पनिरमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । चिनीमा भने कति छुट दिने भन्ने टुंगो नलागेको बताइएको छ ।

सरकारले आगामी असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सञ्चालन गर्न लागेको सुपथ मूल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र सहकारीको संयुक्तरुपमा सञ्चालन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ती पसलहरु सञ्चालन गर्ने खाका मन्त्रालयले तयार पारेको छ ।

मन्त्रालयका अनुसार संस्थान, कर्पोरेसन, दुग्ध विकास संस्थानले संयुक्तरुपमा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार(सामशाहपथ), सतुंगल, भक्तपुर, र ललितपुरमा एकीकृत सुपथ मूल्य पसल सत्तचालन गर्ने भएको छ । त्यसैगरी कर्पोरेसनले काठमाडौंका नौ स्थानसहित तीनवटा घुम्ती सेवा पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

त्यस्तै खाद्य संस्थानले सिंहदरबारमा एकीकृत पसलका साथै उपत्यका बाहिर सातै प्रदेशमा गरी ११ स्थानमा सहकारी पसलमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement