दशैंको मौकामा दबाब दिने र माग सम्बोधन गराउने काइदा, ढुवानीमा अवरोध गर्दा उपभोक्तालाई सास्ती

Advertisement

काठमाडौं । भारतीय ट्यांकर चालकको उक्साहटमा नेपाल आयल निगम सम्बद्ध ढुुवानीकर्ताले विभिन्न शर्त र माग अघि सार्दै नियमित ढुवानीमा अवरोध गर्दा राजधानीलगायतका ठाउँमा इन्धन अभाव सुरु भएको छ।

आफ्ना जायज नाजायज माग सम्बोधन गराउन चाडपर्वअघि अत्यावश्यक सेवा रोकेर सरकारलाई दबाब दिने गलत प्रवृत्तिले गर्दा उपभोक्ताले प्रायः हरेक बर्ष सास्ती भोग्नु परेको छ । ढुवानीकर्ताले मंगलबारदेखि ट्यांकर सञ्चालनम अवरोध गरेपछि राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन लाग्न सुरु भएको छ ।

निगमले चालकको तलब भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी सोही बमोजिम पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज बनाउने सहमति गरेको भए पनि फेरि चालकले सम्झौता तोडेर आन्दोलनमा उत्रिएका हुन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार ढुवानीकर्ताका मागमध्ये भारतमा लाग्ने टोल ट्याक्स, सरकारी शुल्क र ट्यांकर लकिङ फिटिङलगायत खर्चलाई समय अनुकुल बनाउनुपर्ने विषयमा निगम सकारात्मक रहेको र त्यसलाई वैज्ञानिक ढुवानी भाडामा समायोजन गरिसक्दा पनि विभिन्न बाहनामा पेट्रोलियम पदार्थको आपूतिमा अवरोध सिर्जना गर्ने काम भएको छ ।

निगमले विज्ञप्ति पनि जारी गरी अवरोध सिर्जना गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । निगमलाई जानकारी नै नगरी इन्धन आयतमा अवरोध गर्ने काम भएको भन्दै निगमले भनेको छ, ‘यातायात क्षेत्रमा सञ्चालिनन केही सवारी साधनका चालकको उक्साहटमा निगम सम्बन्ध ढुवानीकर्ता तथा चालकले असोज २ गतेदेखि पेट्रोलियम पदार्थको नियमित ढुवानीका कार्यमा समेत व्यवधान खडा गर्ने दुस्प्रयास गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ ।’

चालक र ढुवानीकर्ताले दुई दिनदेखि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धन अभाव देखिएको हो। चालक र ढुवानीकर्ताको अवरोधले देखिएको इन्धन अभावको समस्या समाधानका विषयमा आयल निगममा अहिले छलफल भइरहेको गोइतको भनाइ छ।

Advertisement

Advertisement

Advertisement