पुनर्निर्माणमा जम्मा तीन खर्ब ३५ अर्ब खर्च, छ खर्ब अझै  अपुग भन्दै दातासँग माग

Advertisement

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि अझै छ खर्ब रुपियाँ अपुग रहेको जनाएको छ । दाताहरु सहभागी भएको विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठकमा प्राधिकरणले सो कुरा जनाएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ साल वैशाखको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनर्निर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्ने बताए ।

उनले पुनर्निर्माणको काम सक्न निकै ठूलो आर्थिक ग्याप रहेको भन्दै बाँकी काम सक्न थप करिव छ खर्ब रुपियाँ जरुरी रहेको बताए । पञ्चवर्षीय पुनर्निर्माण योजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न नौ खर्ब ३८ अर्ब रुपियाँ लाग्ने आंकलन गरिएको ज्ञवालीको भनाई छ ।

हालसम्मको बजेट खर्च तथा चालू आर्थिक वर्षका लागि छुट्टाइएको बजेट जोड्दा करिव तीन खर्ब ३६ अर्ब रुपियाँ खर्च हुने उनले बताए । पुनर्निर्माणमा केही स्रोत गैरसरकारी तथा निजी क्षेत्रबाट पनि परिचालन भएको भन्दै ज्ञवालीले पञ्चवर्षीय पुनर्निर्माण योजना परिमार्जनको क्रममा रहेको र सो पश्चात् वास्तविक वित्तीय आवश्यकता आउने बताए ।

पुनर्निर्माणका लागि २०७२ असारमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देश र दातृ निकायहरुले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम समयमा प्राप्त गर्नका लागि प्रयास गर्ने उनले बताए । दातृ निकायहरुले चार खर्ब १० अर्ब रुपियाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए, जसमध्ये ६७ अर्ब उद्धार तथा राहत एवं अन्य कार्यक्रममा खर्च भएको रकम समेत थियो । पुनर्निर्माणका लागि तीन खर्ब ४३ अर्ब रुपियाँ रहेकोमा हालसम्म दुई खर्ब ६२ अर्ब रुपियाँका लागि सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

ज्ञवालीले सबै अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायहरुलाई अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता भएको रकम यथाशिघ्र उपलब्ध गराउन विशेष आग्रह गरे । उनले अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका हुन ।

ज्ञवालीका अनुसार भूकम्पबाट प्रभावित आठ लाख भन्दा बढी घर परिवारमध्ये निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र ३२ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको, भूकम्पबाट क्षति भएका घरमध्ये ३६ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको, पाँच लाख ५१ हजार घर निर्माणाधीन रहेको, ७५ सय विद्यालयमध्ये ३८ सय विद्यालयको निर्माण सम्पन्न भएको, २७ सय निर्माणको क्रममा रहेको, १२ सय स्वास्थ्य संस्थामध्ये ६५० को निर्माण पूरा भएको, १५० निर्माणाधिन रहेको, सात सय ५३ सम्पदाहरुमध्ये १८५ वटा सम्पदाको निर्माण सकिएको, ३१० वटा निर्माणको क्रममा रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement