सरकार र यातायात व्यवसायीको वार्ता अझै मिलेन, टिकट बुकिङ भने आंशिक खुल्यो

Advertisement

काठमाडौं । सरकारसँगको वार्ता बिना निष्कर्ष टुंगिएपनि दशैंको लागि टिकट बुकिङ शुक्रबारबाट आंशिक रुपमा खुलेको छ । यातायात व्यवस्था विभागले आज नयाँ बसपार्कका २४ वटा काउन्टरबाट टिकट बुकिङ खुल्ला भएको जानकारी दिएको छ ।

तर आजै बसेको व्यवसायीसँगको वार्ता भने विना निष्कर्ष सकिएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी गराए । व्यवसायीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग नछोडेपछि सहमति हुन नसकेको उनले बताए ।

शुक्रबारको बैठकबाट निष्कर्ष निस्कन नसकेकाले छिट्टै अर्को बैठक बसि निष्कर्षमा पुग्ने सहमति भएको उनले बताए । भोलि शनिबार भएकाले अब आइतबार मात्र बैठक बस्ने उनले जानकारी गराए ।

आज अनुगमनको क्रममा बसपार्कका २४ वटा काउन्टरबाट टिकट बुकिङ खुलेको भेटिएको उपाध्यायले बताए । भोलिदेखि अन्य शाखा कार्यालयहरुबाट पनि बुकिङ खुल्ला हुन सक्ने पनि उनले जानकारी गराए ।

यातायात व्यवसायीहरुले सुरुमा शुक्रबारबाट टिकट बुकिङ खोल्ने सहमति गरेपनि बिचमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सहमतिबाट पछि हटेका हुन् । यातायात व्यवसायीले आफ्ना माग पूरा गराउन हरेक वर्ष दशैं टिकट बुकिङलाई हतियार बनाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement