कोरिया कामदार पठाउने ‘रोजगार अनुमति प्रणाली’को नवीकरण

Advertisement

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नवीकरण भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो।

दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो। प्रत्येक दुई दुई वर्षमा समझदारी नवीकरण हुँदै आएको छ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले आगामी दुई वर्षका लागि इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण भएको जानकारी दिए।

दक्षिण कोरियाबाट आएको नवीकरण सम्बन्धी समझदारी पत्रमा नेपालका श्रममन्त्री विष्टले हस्ताक्षर गर्नुभएको हो। त्यसअघि उक्त नवीकरण सम्बन्धी समझदारीपत्र हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको थियो।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार सन् २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन्। सो प्रणाली मार्फत अहिलेसम्म ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार २५ छन्।

हाल दक्षिण कोरियामा करीब ३५ हजार नेपाली कामदार कार्यरत रहेको शाखाले जनाएको छ। सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदैछन्।

Advertisement

Advertisement

Advertisement