सोह्रश्राद्धको वैज्ञानिक पक्ष

sraddha

विश्वका कुनै पनि सभ्यतामा आफ्ना पूर्वजलाई अत्यन्त आदरका साथ स्मरण गर्ने आ–आफ्नै संस्कृति रही आएका छन् । ओमकार परिवार भित्रको मुलधार वैदिक हिन्दू संस्कृतिमा वर्ष दिनमा १५ दिन पितृ पक्ष स्मरण गर्ने दिनका रुपमा छुट्याईएको छ । जसलाई सोह्र श्राद्ध भनिन्छ । आविश्न कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ भने आविश्वन शुक्ल पक्षलाई दुर्गापक्ष भनिन्छ । दुर्गापक्षमा हिन्दूहरुको महान चाड दशैको नवारत्र पर्दछ । र नवरात्र भन्दा ठिक अघिको १५ दिन पितृलाई स्मरण गर्ने दिन यकिन गरिएको छ । यसले के प्रष्ट पार्दछ भने देव पक्षको पूजा आराधना जस्तै पितृ पक्षको स्मरण उत्तिकै महत्वले भरिएको छ भन्ने सन्देश स्पष्ट छ ।

पितृ पूजाको बैज्ञानिकता
कुनै पनि व्यक्ति आफै फुत्त कुनै ग्रहबाट पृथ्वीमा झर्ने होइन । मातापिताको कोखबाट यस धर्तीमा जन्म लिएर मात्र कुनै पनि व्यक्ति आफै हुर्कने पनि होइन । उसलाई हुर्काउन मातापिताले असिमित दुःख र संघर्ष गरेका हुन्छन् । र संसारमा उत्पन्न हुने पनि वस्तु कुनै न कुनै एक दिन नाशवान छन् । अवश्य पनि जो कोहीको पनि मातापिता एक दिन निश्चित रुपमा निधन हुन्छन् नै । तर जन्म दिने मातापिताको भौतिक शरीरको अन्त्यसँगै उहाँहरुलाई विर्सन सकिन्छ त ? अवश्य सकिंदैन ।

nic-asia

साथै अहिलेको विज्ञानका अनुसार पनि केही रोग, केही स्वभाव, विशेषता, बानी, मनपराउने स्वाद वा मन नपराउने स्वाद लगायतका विशेषता बंशानुगत हुन्छन । यस्तो अवस्थामा आफूलाई सत्मार्गमा डोर्याउने मातापितालाई नमन गर्नु, स्मरण गर्नु उच्चस्तरको संस्कारले भरिएको गतिविधि हो ।

पितृको आशिर्वादले कुनै पनि मानिसमा उत्साह, उमङ्ग र कार्य सफलता प्रदान गर्दछ । पितृलाई दुत्कार्नेहरुका जीवनमा अनेकौ कठिनाईहरु आइपरेका हामीले आफ्नै वरपर देख्न सक्दछौ । पूर्वजलाई स्मरण गर्दै उहाँहरुको योगदानमा गौरव गर्ने प्रचलन पुस्ता पुस्ता हस्तान्तरण हुँदै जाँदा पछिल्लो आउने पुस्ताले पनि अघिल्लो पुस्तालाई सम्झने परिपाटी निरन्तर रहिरहन्छ ।

मनको तह र सम्बन्ध
हाम्रो शास्त्रीय मान्यताअनुसार मनको तीन वटा तह हुन्छ । यसलाई अहिलेको विज्ञानले पनि स्वीकार गरिसकेको छ । चेतन, अर्धचेतन र अवचेतन मन । चेतन मन पूर्णतया होसमा सक्रिय हुने तह हो । तर मन, अर्धचेतन र अवचेतन अवस्थामा पनि सक्रिय हुन्छ तर यो सक्रियता चेतन तरिकाले हुँदैन ।

त्यसैले जसको घरमा कुनै पनि पूर्वजको निधनमा राम्रोसँग पितृ कार्य भएको हुँदैन, श्राद्ध गरिएको हुँदैन र सोह्रश्राद्धमा पनि श्राद्ध गर्ने गरिएको हुँदैन, त्यो परिवारका सदस्यका अर्धचेतन र अचेतन मनमा पितृहरुको तन्द्रा आइरहने हुन्छ । त्यस्तो अवस्थामा अत्यन्त नराम्रा प्रकारका सपनाहरु आइरहने, मनमा त्रास भइरहने, मन लुलो हुने, मनमा दृढता नहुने, अशुभ हुँदैछ भन्ने मात्र लागि रहने र परिवारका सदस्यहरुका बीचमा तनावको अवस्था पैदा हुने गर्छ । पितृहरुले अर्धचेतन र अचेतन मनमार्फत आफ्नो परिवारका सदस्यहरुसँग सञ्चार स्थापना गरिरहेका हुन्छन् ।

कतिपय व्यक्तिहरुले आफ्नो परिवारका कुनै सदस्यको निधन भएको र अञ्जानका कारण श्राद्ध हुन नसकेको र पछि तिथि मिति पत्ता लगाएर श्राद्ध गर्न थालेपछि आफ्नो परिवारमा देखा परेको नकारात्मक अवस्था ठिक भएको अनुभव सुनाउने गर्नु हुन्छ । यो यथार्थ हो कि पितृ पक्षको सञ्चार सम्बन्ध आफ्ना परिवारका भौतिक व्यक्तिको अर्धचेतन र अचेतन मनसँग हुनेगर्छ । त्यो विभिन्न माध्यमबाट हुनेगर्छ । कतिपयले आफ्ना मातापिताको निधनको तिथि वरपर आफ्ना मातापितालाई सपनामा ज्यादा देख्ने, दिउँसो पनि आफू वरपर नै बसिरहेको हो कि जस्तो लाग्ने जस्ता आभाष महशुस गर्दछन् ।

यो तरंगका आधारमा व्यक्तिको मनोवैज्ञानिक अवस्थामा हुने सञ्चारको अवस्था हो । यसलाई भौतिक स्वरुपमा हेर्न खोज्नु र देख्न नसकिएमा यो अवैज्ञानिक विषय हो भनेर उपेक्षा गर्नु आफैमा मुर्खतापूर्ण तर्क हुन आउँछ । विचारको विज्ञान झै यसरी स्थापित हुने सञ्चार पनि अदृश्य तर अत्यन्त बलियो तरंगको हुने गर्छ । यो भौतिकरुपमा देख्ने भन्दा पनि महशुस गरिने विज्ञानमा आधारित छ ।

यस वर्षको सोह्र श्राद्ध
यस पटकको सोह्र श्राद्ध असोज ९ गतेदेखि आरम्भ हुने छ । ९ गते प्रतिपदाश्राद्ध रहेको छ । १० गते द्धितीयाश्राद्ध, ११ गते तृतीयाश्राद्ध, १२ गते चतुर्थीश्राद्ध, १३ गते पञ्चमीश्राद्ध, १४ गते षष्ठीश्राद्ध, १५ गते सप्तमीश्राद्ध, १६ गते अष्टमीश्राद्ध रहेका छन् ।

त्यसैगरी १७ गते नवमीश्राद्ध, १८ गते दशमीश्राद्ध, १९ गते एकादशीश्राद्ध, २० गते द्धादशीश्राद्ध र त्रयोदशीश्राद रहेका छन् । त्यसैगरी २१ गते शस्त्रअस्त्रबाट निधन भएकाहरुको श्राद्ध गर्ने चतुर्दशीश्राद्धको दिन रहेको छ । २२ गते औसीको श्राद्ध तथा पितृविसर्जन रहेको छ ।

यसरी १५ दिन आ–आफ्नो परिवारका दिवंगत सदस्यको श्राद्ध गरि पितृका लागि स्मरण गर्ने दिन निर्धारित गरिएको छ । आ–आफ्नो परिवारको सदस्यको जुन तिथिमा निधन भएको हो, सोही तिथिमा सोह्रश्राद्धको श्राद्ध गर्ने प्रचलन रही आएको छ । कम्तिमा पनि वर्ष दिनमा एक दिन आफ्ना दिवंगत परिवारका सदस्यलाई दिने प्रचलन आफैमा अत्यन्त वैज्ञानिक र व्यवहारिक छ । यस दिन दिइने तर्पण, श्राद्ध, पिण्ड दान र अन्य दानबाट पितृहरु खुशी रहन्छन र आशिर्वाद दिन्छन भन्ने विश्वास रही आएको छ ।

केही आधुनिकताको अभ्यास
हो, समयक्रमअनुसार यस संस्कारमा पनि केही परिवर्तनहरु देखा परेका छन् वा देखा पर्न सक्नेछन् । यसको मुल मर्मलाई यथावत राखि समय, काल, परिस्थिति र व्यवहारिक अवस्था अनुसार केही तलमाथि हुन सक्छन् । आज विश्व भुमण्डलीकरणका कारण एकै परिवारका सदस्यहरु विश्वका विभिन्न देशमा छरिएर बस्न पुगेका छन् । मातापिताको सोह्रश्राद्धकै लागि विश्वका विभिन्न स्थानबाट एकै ठाउँमा जम्मा हुन धेरै जसो सन्दर्भमा व्यवहारिक कठिनाईहरु छन् । यस्तो अवस्थामा जहाँजहाँ रहिएको हो, त्यही स्थानमा चोखो बसेर मातापितालाई स्मरण गर्न सकिन्छ । नेपालभन्दा बाहिर रहेको अवस्थामा श्राद्ध नै गर्न असम्भव भए त्यस दिन शाकाहारी मात्र खाने, चोखो बस्ने र जथाभावी नखाई मातापितालाई स्मरण गर्न सकिन्छ ।

साथै सोही समाजमा मातापिताका नाममा अक्षयकोष स्थापना गरि समाजका कमजोर वर्गलाई सहयोग गर्ने अवस्था सिर्जना गर्न सकिन्छ । र उक्त सहयोग मातापिताको तिथिमा नै प्रदान गर्न सकिन्छ । त्यत्ति मात्र होइन, आफ्नो जन्मथलो वा आफैले पढेको विद्यालय आदीमा छात्रवृत्ति कोष स्थापना गर्न सकिन्छ । मातापिताका नाममा मन्दिर, विद्यालय, स्वाथ्य चौकी, चौतारा, बाटोघाटो, पानीका धारा, कुवा, इनार, पधेरो आदी निर्माण गरिदिन पनि सकिन्छ ।

तर आफ्ना मातापिताको तिथि नै भुल्दै जानु, सोही दिन मांस, मदिरा आदी बेपर्वाह रुपमा सेवन गर्नु, कुनै पनि संस्कारगत हिसावले ठिक हुन सक्दैन । जवानीका दिनहरुमा कोही कसैले “केही फरक पर्दैन” भन्दै त्यसो गरेमा उक्त व्यक्ति जीवनको मध्य उमेरतर्फ अघि बढ्दै जाँदा उसमा पश्चातापको भुमरी अवश्य सिर्जना हुनेछ । उक्त भुमरीको तापले पोल्ने पोलाईको पीडा कति हुन्छ भन्ने यकिन स्वयं उसलाई मात्र थाहा हुनेछ ।

संसारको जुन कुनै सभ्यतामा पनि आफना पूर्वजलाई निश्चित समय समयमा स्मरण गर्ने प्रचलन छ । वैदिक परम्परालाई निधन भएको तिथिका दिन गर्ने परम्परा बसालिएको छ । तिथिका दिन पितृहरु आफ्ना नातेदारबाट तर्पण, श्राद्ध, दान आदी पाउने अपेक्षामा हुन्छन् भन्ने शास्त्रीय विश्वास रही आएको छ । आधुनिक बन्ने नाममा वैज्ञानिक आधारमा निर्धारित भएका सामाजिक संस्कृतिलाई उपेक्षा गर्ने नगरौं । व्यवहारिक ढंगबाट अवलम्बन गरौं ।

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)