अनौठो क्याफे जहाँ मज्जाले तोडफोड गर्न पाइन्छ

bhadas2

एजेन्सी । अर्काको सम्पत्ति तथा मालवस्तु तोडफोड गरिदिने अधिकार कसलाई पो हुन्छ र ? तर अहिले एउटा यस्तो क्याफे खुलेको छ जसमा तपाइँले आफुलाई चाहेको कुरा तोडफोड गर्न सक्नुहुन्छ ।

भारतको मध्यप्रदेशको इन्दोरस्थित चन्द्रनगरमा खुलेको भडास क्याफे तपाइँले मज्जाले तोडफोड गर्न सक्नुहुन्छ । यसरी तोडफोड गरिरहँदा तपाइँलाई कसैले रोक्दैन, कारवाही गर्दैन । कारवाही त भोग्नु पर्दैन, तर यसरी तोडफोड गर्नका लागि तपाइँले सुरुमै अनुमति लिँदा केही शुल्क तिर्नुपर्ने हुन्छ ।

उक्त क्याफेमा तपाइँले जे मनलाग्यो त्यहीँ फोड्न सक्नुहुन्छ । सिसाको गिलास, कप, कुर्सी, टिभी, ल्इापटप, कम्प्युटर, घडी जस्ता सबै चिज पाइन्छन् जो फुटाउँदा तपाइँलाई मज्जा आउनेछ ।रिस शान्त पार्नका लागि त्यहाँ पन्चिङ ब्यागदेखि बेलुन सम्म छन् । त्यहाँ तोडफोडका लागि जानेहरुले २ देखि ५ भारु दिएर गिलास फोड्न पाउँछन् । ५० भारु दिएर घडीलाई टुक्राटुक्रा पार्न सक्छन् । जति महंगो सामान फोड्न चाहनुभयो उति नै बढि रकम तिर्नुपर्ने हुन्छ । तर सामानको खास मूल्यको तुलनामा त्यहाँ तिर्नुपर्ने शुल्क चाहीँ निकै कम हो ।
यो क्याफेको खास विशेषता के भने त्यहाँ ग्राहकलाई कुनै रोकतोक हुँदैन ।

अतुल मलिकराम नामका युवाले उक्त क्याफे खोलेका हुन् । यो भारतको पहिलो भडास क्याफे हो । आजको भागदौडपूर्ण जिन्दगीमा मानिसहरुको तनाव, डिप्रेसन, रिस तथा पीडा कम गर्नका लागि यो क्याफेले सहयोग गर्ने दाबी उनको छ । यहाँ तोडफोड गरेर कुनैपनि मानिसले आफ्नो मन शान्त पार्न सक्दछ । मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै तोडफोड गर्ने ग्राहकहरुलाई सुरक्षित ग्लोब्स, हेल्मेट, तथा सूट लगाउन दिइन्छ । यो क्याफेको भित्ता, छत लगायतका सबै ठाउँमा घृणा, रिस, रुवावासी, झगडा जस्ता शव्दहरु ठूला ठूला अक्षरमा लेखिएको छ ।

स्मरण रहोस् पश्चिमा देशहरुमा यस्ता क्याफेहरु एंगर रुम नामबाट पहिले देखिनै प्रचलनमा छन् । मानिसहरुमा बढ्दो डिप्रेसनलाई ध्यानमा राख्दै सबैभन्दा पहिले अमेरिकामा सन् २००८ मा यस्तो एंगर रुम खुलेको थियो ।