अर्थमन्त्री भन्छन्- धेरै कमाउनेले कर धेरै तिर्नैपर्यो नि

Advertisement

बुटवल । अर्थमन्त्री युवराज खतिवडाले धेरै आम्दानी गर्नेलाई धेरै र थोरै आम्दानी गर्नेलाई थोरै कर तिर्ने प्रगतिशील नीति सरकारले लिएको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको कार्यक्रममा उनले प्रगतिशील नीतिका कारण कसैलाई पनि मार नपर्ने जिकिर गरे ।

विशेषगरी स्थानीय निकायहरुले जथाभावी कर बढाएको भन्दै विरोध भइरहेको बेला खतिवडाले त्यस्तो स्थिति नरहेको दावी गरे । उनले कुनै पनि निकायमा एकै खालको दोहोरो लाग्ने नलगाइएको बताए । खतिवडाले भने, 'आम्दानी हुनेले कर तिर्ने हो । बढी आम्दानी हुनेले बढी कर तिर्नुपर्छ । कर हुनेले कम । यो नै प्रगतिशील कर प्रणाली हो ।'

अर्थमन्त्री खतिवडाले मुलुक सङ्घीयतामा प्रवेश गरेपछि राज्य सञ्चालनमा स्वाभाविकरुपमा बढी स्रोतको आवश्यकता हुने भन्दै आत्मनिर्भर अर्थतन्त्र बनाउन राजश्व वृद्धि जरुरी रहेको बताए ।

उनले एकद्वार प्रणालीबाट कर उठाउने सरकारको नीति रहेको बताए । खतिवडाले राज्यका सबै तहका सरकारले दिने जुनसुकै सेवा प्रदान गर्दा सेवा प्रदायक सबै निकायले सहज, सुगम, सुविधासहित बिना कुनै झन्झट कर तिर्न पाउनुपर्ने भन्दै त्यसका लागि आवश्यक तयारी भइरहेको बताए ।

वर्तमान सरकार सस्तो लोकप्रियताभन्दा पाँच वर्षसम्म पूर्णरुपले शासन गरेर जनतालाई प्रत्याभूत हुने काम गरेर देखाउने पक्षमा रहेकाले विकासका कामले गति लिन केही समय लागेको भन्दै उनले अहिले नै धेरै प्रतिफलको आशा नगर्न आग्रह गरे ।

खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून दुई महिनाभित्र संशोधन भइसक्ने जानकारी दिए । लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्द्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानून संशोधन भएर लगानीमैत्री वातावरणमा जाने उनको भनाई छ । खतिवडाले भने, 'मुलुकमा अहिले स्थिर सरकार रहेको छ । जुनसुकै पनि निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा रहेको छ ।'

कार्यक्रममा प्रदेश ५ सरकारका मन्त्री लीला गिरी, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, सङ्घका अध्यक्ष खेमबहादुर हमाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठ, सङ्घका महासचिव दिनेश श्रेष्ठ, सङ्घका पूर्वअध्यक्ष अनुपमान सैंजु लगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement