अलैंचीको व्यावसायीक खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

Advertisement

भोजपुर । भोजपुरका अलैंची कृषक राम्रो आम्दानीसँगै अलैंची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैंची खेतीमै समय व्यतित गर्ने गरेका छन् ।
एकसय रोपनी जमिनमा अलैंची खेती गर्दै आएका उनले वार्षिक एकलाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

कृषक पाण्डे भन्छन्, ‘पहिलो पटक मैले अलैंची चाखेको बेला मलाई त्यो फल निकै मीठो लागेकाले त्यै खेतीमा लाग्ने रहर जाग्यो । राम्रो मूल्यमा बिक्री हुने र स्वास्थ्यको लागि पनि राम्रो मसाला भएकाले यै खेतीमा लागेको हुँ ।’ जब उनले अलैंचीबाट राम्रो आम्दानी गर्न थाले त्यसपछि अन्य धानखेत समेत भाडामा लिएर अलैंची खेतीलाई व्यावसायिक रूप दिए ।

आफ्नो परिवारलाई धानखेती गर्दा शुरुमा खानलाई छाक टार्न समस्या हुन्थ्यो तर अलैंची खेती विस्तार गरेपछि परिवारलाई धान्न सहज भएको जानकारी दिँदै कृषक पाण्डे भन्छन्, ‘अलैंची खेतीको शुरुको समयमा त के गरे के गरिन भन्ने नै छैन तर अहिले यो खेतीबाट परिवारलाई दुईचार पैसाको दुःख छैन । पहिला धानखेती गर्दा खान पुग्दैन थियो । अलैंची ले मेरो जीवनस्तर उकासेकाले हाल म एक सफल कृषकमा गनिन्छु ।’

शुरुमा अलैंची खेती गर्दा आमाले धान खेती मासेको देख्दा तेरा छोराछोरीलाई घाँस दिएर पाल्नु । भएको धानखेती सबै जङ्गल बनाइहालिस् भन्नुभएको थियो । छरछिमेकले पनि सबै धान फल्ने खेत मासेको देख्दा बौलाएको भन्थे तर त्यो बेलामा बौलाहा भन्नेहरू अहिले पछुताएका छन् । उनी बताउँछन्, ‘पछुताएकाहरू भन्छन् हेर, त्यस बेलामा तिमीलाई बौलाएको भनियो तर तिम्रोजस्तो बेलामै बुद्धि पुर्याएको भए हाम्रो पनि आयस्तर वृद्धि हुने रैछ’ ।

अलैंचीको आम्दानीले एउटा छोरालाई इञ्जिनीयर पढाउन सफल भएका कृषक पाण्डेले अर्को एउटालाई भारतीय सेनामा र तेस्रोलाई नेपाली सेनामा जागिर खुवाउन सफल भएका छन् । उनले वार्षिक रुपमा १८ देखि २० लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय अलैंचीको मूल्यमा गिरावट आउँदा भने आम्दानीमा केही कमी आएको उनको भनाइ छ ।

परम्परागत खेतीलाई परिमार्जन गर्दै लगेका कृषक पाण्डे पनि पछिल्लो समयमा बिरुवा मर्ने समस्या हुनाका साथै फलेको अलैंची सुकाउने आधुनिक अलैंची भट्टी नहुँदा पनि सोचे जस्तो मूल्य पाउन नसकेको गुनासो गरे ।

पछिल्लो समयमा जलवायु परिवर्तन, विभिन्न प्रविधिको कमीका कारण यसतर्फ लागेका कृषक निराश बनेको कृषक उनी बताउँछन् ।

ट्याम्केमैयुङ गाउँपालिका–५ कृषक खगेन्द्र विष्ट पनि अलैंची खेतीमा लागेको धेरै समय भैसकेको छ । उनले यसको खेतीबाट वार्षिक पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएका छन् । आफूले पाँच जनाको परिवारलाई राम्रो शिक्षा दिक्षासँगै आम्दानी पनि राम्रो भइरहेको उनले बताए । विष्ट जस्तै दर्जनौं कृषक अलैंचीको खेतीमा सक्रिय छन् ।

Advertisement

Advertisement

Advertisement