ट्रम्पले दिए ओलीलाई दुई मिनेट, उभिएरै कुराकानी

Advertisement

काठमाडौं । राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी ओलीलाई त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मा दुई मिनेट मात्रै समय दिएका छन् । ट्रम्पसँग भेटघाट गर्ने तालिकासहित उँडेका ओलीले ट्रम्पसँग बसेर समेत गर्न गर्ने मौका पाएनन् ।

उनीहरुबीच उभिएरै दुई मिनेट कुराकानी भएको हो । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा यस्तो भेटघाट भएको हो ।

स्वागत समारोहमा सहभागी सबैसँग संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने क्रममा ओली दम्पति र ट्रम्प दम्पतिको भेटवार्ता भएको हो । विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता हुने भएकोले स्वागत कार्यक्रम लामो समयसम्म चल्छ ।

यही मौकामा ट्रम्पसँग भेटघाट गर्न महासभामा आफूले सम्बोधन गर्ने पालो आउन चार दिन बाँकी रहँदै ओली आइतबार अमेरिका प्रस्थान गरेका हुन । ओलीको सचिवालयले ट्रम्पसँग भेटवार्ता भएको स्वीकार गर्दै भेटमा ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जनाएको छ ।

ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसा गर्दै ओलीले सिंगापुरमा भएको अमेरिका र उत्तर कोरियावीचको वार्ताले विश्व शान्तिका लागि सकारात्मक सन्देश गएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले ट्रम्पबाहेक अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेट गर्दै दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदान प्रदानबारे कुरा गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement