पोखरामा पनि बालिकाको बलात्कारपछि हत्या, संसदमा गृहमन्त्रीको राजीनामा मागियो

Advertisement

पोखरा । कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विकको पनि बलात्कारपछि हत्य भएपछि पोखरा आन्दोलित भएको छ ।

दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार नाराबाजी भइरहेको छ भने उता काठमाडौंमा साँसदहरुले संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् । श्रीयाका हत्यारालाई कारवाहीको लागि दबाव स्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि स्थानीयवासी, मानव अधिकारकर्मी लगायतले नारावाजी जारी राखेका छन् । बलात्कारीलाई फासी दिनुपर्ने उनीहरुको माग छ ।

प्रहरीले भने घटनामा संलग्न रहेको आशंकामा स्थानीय एकजनालाई बुधबार बिहानै पक्राउ गरेको छ । पक्राउ गरिएकाको नाम भने गोप्य राखिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा साँसदहरुले दिनदिनै महिला र बालबालिकामाथि हिंसाका घटना हुँदा पनि सरकारले यसलाई रोक्न र दोषीलाई कारवाही गर्न नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका छन् ।

कांग्रेसकी सांसद पुष्पा भुसालले गृहमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग भनिन्, ‘कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भयो, हिजै मात्र पोखरामा अर्की बालिका बलात्कृत भइन् । महिलामाथि तेजाव हान्ने नयाँ श्रृंखला सुरु भएको छ । तर सरकार चुपचाप बसेको छ । गृहमन्त्रीले केही गर्न सकेका छैनन् । यस्तो अवस्थामा उनले पदमा बसिरहनु उचित हुँदैन ।’

भुसालले हिंसाका घटना रोक्न छोडेर सरकार राजीतिकरणमा लागेको भन्दै थपिन, ‘महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन् । त्यसलाई सरकारले रोक्न नसकी तर राजनीतिकरण गर्न लागेको छ । महिलाविरुद्धका घटना राजनीतिकरण नहोस ।’

Advertisement

Advertisement

Advertisement