यस बर्ष आर्थिक वृद्धिदर साढे ५ प्रतिशत र मुद्रास्फिती ६ प्रतिशत पुग्ने एडिबीको प्रक्षेपण

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आव २०७५।७६ मा आर्थिक वृद्धि ५.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ ।

विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण चालु आवमा मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुने उसको अनुमान छ । चालु वर्षमा सेवा क्षेत्रमा ६.१ प्रतिशतको सुधार देखिने बैंकको प्रक्षेपण छ ।

गत आबमा नेपालको मुद्रा स्फिती घट्दै ४ दशमलव २ प्रतिशतमा झरेकोमा चालू आबमा बढेर ६ प्रतिशत पुग्ने अनुमान गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, चालू आबको विस्तारकारी बजेट तथा नयाँ सङ्घीय संरचना अन्तर्गतका उच्च सरकारी खर्चले मुद्रास्फीतिमा चाप पर्ने भएको छ ।

अनुकूल बाली भण्डारण, ज्यालादर सूचकाङ्कमा वृद्धि र भारतमा मुद्रास्फीति उच्च रहने अनुमानको आधारमा पनि नेपालको मुद्रास्फिती बढ्ने एडीबीको प्रक्षेपण छ ।

गत आर्थिक वर्ष २०७४।७५ मा नेपालले ५.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको जनाएको छ । एडिबीले सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले जारी गरेको भन्दा ०.४ प्रतिशत विन्दूले कम हो ।

एडिबीले गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८.८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६.६ प्रतिशतले भएको जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहहरूमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडिबीले उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement