अन्तर्राष्ट्रिय बीमा सम्मेलन सम्पन्न, बीमाको पहुँच र लागत घटाउन प्रविधिको प्रयोग आवश्यक

Advertisement

काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशील राष्ट्रहरुको बिमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णयसहित सम्मेलन समाप्त भएको हो ।

सम्मेलनको दोस्रो दिन बिमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा छलफल भएको थियो । त्यस्तै बिमामा प्रविधिको प्रयोग र लघुबिमाको बिषयमा छलफल भएको जनाइएको छ ।

बिमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा. रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखम अवस्थामा रहेको बताए ।

त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको उनले बताए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले बताए ।

बिमाको पहुँच बढाउन र लागत घटाउन प्रविधिको प्रयोग
बिमाको पहुँच बढाउन र लागत घटाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बिमा विज्ञ जिम्मी मोलिनियरले बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै मोलिनियरले प्रविधिले बिमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बीमा शुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए ।

उनले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने भन्दै आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा फोकस गर्नुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै भारतका कल्पेश डेसाईले बीमा क्षेत्रमा प्रविधिको उचित प्रयोगको लागि बैंकसँग मिलेर काम गर्न सकिने बताए । उनले भने, “बैंकसँग सहकार्य गर्दा बैंकका एटिएम मेशिन लगायतका प्रविधिको प्रयोग गर्न सकिन्छ ।”

सम्मेलनमा लघुबिमा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुर्नबिमा कम्पनीमा डिर्क रिनहार्डले लघुबिमा मानिसहरुको लागि जीवन उपयोगी हुने बताए । उनले भने, “तर यसले मानिसलाई गरिबीबाट निकाल्ने हैन, गरिबीबाट बाहिर निस्केका मानिसलाई पुन ः गरिबीमा नजान मद्दत गर्छ ।”

फिलिपिन्सका लोरेन्ज हानले लघुबीमाका लागि बिमितहरुको घरघरमा पुग्नुपर्ने भएकाले अन्य बीमाको तुलनामा यो चुनौतीपूर्ण हुने बताए । त्यसैले यस्तो खालको बीमा जारी गर्दा स्थानीय विभिन्न संघ संस्थासँगको सहयोगमा जारी गर्नुपर्ने उनले बताए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले बताए । श्रेष्ठले भने, “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघुबिमा जारी गरि रहेका छौ ।”

नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा चार सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारणसभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।

Advertisement

Advertisement

Advertisement