सौराहा घुम्न आउने पर्यटनले सहरका सात ठाउँको सिटी टुर गर्न पाउने

Advertisement

चितवन । सफारी पर्यटनमा निर्भर सौराहाका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको पहिचान गरी शहरी यात्रा (सिटी टुर)को अवधारणा शुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुले बिहीबारबाट जिल्लाका सात गन्तव्यमा पर्यटक घुमाउने भएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा पर्यटकीय गन्तव्य बोकेका महत्वपूर्ण धेरै स्थान भए पनि पहिलो चरणमा शहरी क्षेत्रका सात गन्तव्यलाई शहरी प्याकेजका रुपमा अघि सारिएको छ । सौराहाको प्रकृति संरक्षण कोषको सङ्ग्रहालय, बच्छौलीको थारु सङ्ग्रहालय, रत्ननगरकै चित्रसेनमा रहेको चित्रसेनबाबा मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम) रहेका छन् ।

रत्ननगर नगरपालिकाका ती स्थानमध्ये प्रकृति संरक्षण कोषको सङ्ग्रहालयमा मरेका वन्यजन्तुको अस्थिपञ्जर छन् । थारु सङ्ग्रहालयमा थारु जातिको संस्कार झल्कने वस्तु देख्न सकिन्छ । सौराहा प्रवेशद्वारको चित्रसेन बाबाको मन्दिर पौराणिक मन्दिर हो । धर्मधाम गत वर्ष रु पाँच करोडभन्दा बढी लगानी गरेर निर्माण गरिएको आकर्षक मन्दिर हो ।

होटल सङ्घले छनोट गरेका अन्य तीन गन्तव्य भरतपुर महानगरपालिकाभित्र पर्दछ । देवघाट धाम, नारायणी नदी तट र तीनखोले गुम्बा नयाँ गन्तव्य हुन् । घिमिरेका अनुसार देवघाट धाम धार्मिक पर्यटकीय महत्व बोकेको स्थल हो । पूण्य भूमिका रुपमा परिचित देवघाट क्षेत्रमा मठमन्दिर, वृद्धाश्रम, गुरुकुलसँगै नदीको सङ्गमस्थल छ । अर्को गन्तव्य नारायणी नदी तट नारायणगढ बजारसँगै अवस्थित छ । सो क्षेत्रमा विभिन्न मठमन्दिर र खुला चौर छ । तीन खोले गुम्बा बुद्ध धर्मावलम्बीको महत्वपूर्ण आस्थाको केन्द्र हो । सुन्दर र मनोरम भएकाले नयाँ गन्तव्य पर्यटकले रुचाउने अपेक्षा गरिएको छ ।

होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष दीपक भट्टराईले घुम्न आउने पर्यटकलाई निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सफारी गराउनुको साथै आजबाट शहरी यात्रा समेत गराइने बताए ।

सौराहा आएका पर्यटकले हाल हात्ती चढ्ने, नौका विहार गर्ने, जङ्गल पैदल यात्रा, सामुदायिक वनभित्र बनेका टावरमा बस्ने र थारु संस्कृतिमा रमाउने गर्छन् । थपिएका नयाँ गन्तव्यसँगै पर्यटकले जिल्लाका धार्मिक, सांस्कृतिक र मनोरम क्षेत्रको भ्रमण गर्न पाउने भट्टराईले बताए । ती गन्तव्य प्रभावकारी भएमा थप पर्यटकीय क्षेत्रमा लैजाने बताइएको छ ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वनले थप ठाउँको पहिचान गरी पर्यटकलाई घुमाउन सके पर्यटकको सङ्ख्या बढ्ने र बस्ने समय लम्बिने बताए । सफारी पर्यटनमा मात्र आश्रित चितवनमा पर्यटकलाई शहरी यात्रा गराएर नयाँ ठाउँ देखाउनु महत्वपूर्ण हुने उनले बताए । आगामी दिनमा अरु ठाउँ पहिचान गरी पर्यटकलाई घुमाउन उनले सुझाव दिए ।

मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न यहाँ पर्यटक आउँछन् । निकुञ्जमा पाइने दुर्लभ एक सिङ्गे गैँडा, बाघ, भालु, गोहीलगायतका जनावरले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । थारु संस्कृतिमा पनि पर्यटक रमाउने गर्छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक चितवन घुम्न आउँछन् । यो सङ्ख्या बढाएर बस्ने अवधि लम्ब्याउन व्यवसायी लागेका छन् ।

Advertisement

Advertisement

Advertisement