दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य बन्ने पर्यटनमन्त्रीको दावी

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन ।

नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको बिहीबार अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने बताए ।

उनले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गरे ।

मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिए । सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधार तथा नयाँ पीक र गन्तव्य खोल्न पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

सो अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरियो । यस वर्षको कुमारखड्ग विक्रम साहसिक पुरस्कार दक्षिण कोरियाका आरोही डा ओम हुङ्गेल र डा हर्क गुरुङ पर्वतीय पुरस्कार कोरियाकै डा इङ जोङलीलाई सम्मान गरियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटुप शेर्पा र दि हिमालयन टाइम्सका राजन पोखरेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, हिमाल आरोहणमा धेरै आरोही पठाउने विभिन्न १० ट्रेकिङ्ग एण्ड एक्सपिडिसन कम्पनीलाई पनि सङ्घले सम्मान गरेको थियो । ती सबै पुरस्कार पर्यटनमन्त्री अधिकारीले प्रदान गरे ।

ठमेल सडक महोत्सव

यसैगरी विश्व पर्यटन दिवसको अवसरमा आज ठमेलमा सडक महोत्सव आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गरेको हो ।

त्रिदेवी मार्गमा औपचारिक उद्घाटन भएको महोत्सव ठमेलका नरसिंह चौक, सातघुम्तीलगायत मुख्य सडकमा विविध सांस्कृतिक कार्यक्रम गरी आयोजना गरिएको छ ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

महोत्सवका अतिथिलाई ठमेल परिक्रमा गराइएको छ । विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रमले ठमेलको रौनकता बढाएको छ । महोत्सवमा उल्लेख्य सङ्ख्यामा स्वदेशी सर्वसाधारण तथा विदेशी पर्यटकको घुइचो छ ।
नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताए ।

Advertisement

Advertisement

Advertisement