पेट नचिरिकनै पाठेघरको उपचार गरिने ल्याप्रोस्कोपी विधि बढी वैज्ञानिक र सुरक्षित छः डा. रंगिना

Advertisement

पेट नचिरिकनै दूरविनको सहायताले पाठेघरको उपचार गर्ने ल्याप्रोस्कोपी विधि अर्थात छाया उपचार विधिलाई नेपालमा अघि बढाउने काम स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रंगिना शाहले गर्दै आउनु भएको छ । यो विधिबाट उपचार गर्दा बिरामीलाई कम पीडा हुने, छिटो उपचार हुने र तुलनात्मकरुपमा कम लागतमै उपचार हुने उहाँको भनाई छ । ल्याप्रोस्कोपी सर्जरीका बारेमा उअल्का अस्पतालमा कार्यरत डा. शाहसँग गरिएको कुराकानीको सार प्रस्तुत छः

तपाईंको अध्ययन चाहीं ?
मैले एमबीबीएस र एमडीको डिग्री काठमाडौं विश्वविद्यालयअन्तर्गतको कलेज अफ मेडिकल साइन्स भरतपुरबाट प्राप्त गरेको हो । त्यसपछि मैले ल्याप्रोस्कोपीको तालिम विभिन्न ठाउँबाट लिएँ । भारतको कानपुर, गोरखपुर, मुम्बई, दिल्लीको एम्सबाट दुई पटक तालिम लिएको छु । कयौं बर्षअघि ल्याप्रोस्कोपीको जुन युनिभर्सिटीबाट सुरुवात भएको थियो, जर्मनीको क्योर्डस युनिभर्सिटी, त्यहाँबाट तीन महिनाअघि मैले डिप्लोमा डिग्री लिएर आएको हो ।

किन ल्याप्रोस्कोपी रोज्नुभयो ?
ल्याप्रोस्कोपीमा मेरो इच्छा कहाँबाट सुरु भएको हो भने मेरो परिवारमा स्त्री रोगसम्वन्धी डाक्टरहरु थुप्रै भएकोले र उहाँहरु बाहिर नै प्राक्टिस गर्नुहुन्छ । मलाई नेपालमा पढाइ गर्दा के महशुस भयो भने हाम्रो फिल्ड, हामी चाहीं पछाडि छ । पढ्ने क्रममा दिदी, दाई, फुपुहरुले सोध्नेगर्नुहुन्थ्यो तिमीले के के नयाँ कुरा सिक्यो ? भनेर । एमडीको अध्ययनको क्रममा हाम्रो जुन ओपन सर्जरी, जुन सयौं बर्षदेखि चल्दै आएको पूरानो सर्जरी, त्यो मात्रै सिक्न पाइयो । त्यही बेलामा नै यति पढाईले पुग्दैन भन्ने लागिसकेको थियो । म एउटा कन्फेरेन्समा जाने क्रममा, एक जना विदेशी डाक्टर, जसको पढाई पनि सकिएको थिइन, उहाँले रोबोटिक सर्जरीको बारेमा बोल्दै हुनुहुन्थ्यो । रोबोटिक सर्जरी नेपालमा कहीं पनि छैन । उहाँले स्त्री रोगको उपचारका क्रममा रोबोटिक सर्जरी विधिबाट के के अपरेशन गर्नुभएको छ ? भनेर सोधेपछि मलाई मनमा छोयो । हामीले पढ्ने किताव एउटै हो । आखिरी किन यो विधिबाट अपरेशन गर्न सकेनौं भन्ने मलाई लाग्यो । त्यसपछि मैले ल्याप्रोस्कोपीतिर विभिन्न ठाउँमा ट्रेनिङहरु लिएँ ।

रोबोटिक र ल्याप्रोस्कोपी विधि एउटै हो र ?
होइन । फरक हो । ल्याप्रोस्कोपीभन्दा माथि मिनि ल्याप्रोस्कोपी छ । त्यो भन्दा माथि रोबोटिक सर्जरी छ । अहिले संसारभरि नै टपक्लासमा रोबोटिक सर्जरी पर्छ । तर, नेपालका कुनै पनि अस्पतालमा यो सेवा उपलब्ध छैन् ।

ल्याप्रोस्कोपी भनेको चाहीं कस्तो विधि हो ?
ल्याप्रोस्कोपी भन्ने वित्तिकै मानिसलाई पित्तथैलीको अपरेशन सम्झिना हुने चलन छ । पित्तथैलीमा प्वाल पारेर गरिने शल्यक्रिया पाठेघरमा पनि हुन्छ र ? भनेर मानिसहरुले सोध्ने गर्छन । यो प्रश्न चाहीं धेरै आउने गरेको छ । विश्वभरको तथ्यांक हेर्ने हो भने ल्याप्रोस्कोपी सर्जरी सर्जनभन्दा पनि गाइनोक्लोजिष्ट, हामी जस्तै स्त्री रोगका डाक्टरहरुले सुरुवात गरेको हो । नेपालमा चाहीं सायद हाम्रा सिनियरहरुले यसलाई अघि बढाउन सकेन । त्यसले गर्दा धेरैलाई भ्रम के भइरहेको छ भने ल्याप्रोस्कोप भनेको पित्तथैलीमा भएको पत्थरी निकाल्ने विधि हो । वास्तवमा यो गाइनोक्लोजिष्टहरुले पित्तथैलीको अपरेशन गर्नुअघि नै पाठेघरको अपरेशन सुरु गरिसकेको थियो । ल्याप्रोस्कोपी भनेको के हो पेट नचिरिकनै गरिने अपरेशन हो । जस्तो पहिला १० सेन्टिमिटर, १२ सेन्टिमिटर, १५ सेन्टिमिटर, जति ठूलो ट्युमर हुन्छ, त्यो अनुसार हाम्रो अंगलाई काटेर ट्युमर वा पाठेघर फाल्ने प्रविधि पुरानो प्रविधि भयो । ल्याप्रोस्कोपीमा चाहीं एक सेन्टिमिटरको प्वाल पारेर त्यही माध्यमबाट हामी क्यामरा छिराउँछौं । त्यो क्यामराको माध्यमबाट भित्रको अंक ठूलो टेलिभिजन स्क्रिनमा हेछौं । रोगअनुसार दुई, तीन, चार वटा प्वाल पारेर उपचार गर्ने हो यो प्रविधि ।

ल्याप्रोस्कोपी प्रविधि उपचारमा मात्रै गरिँदैन । कहिले काहीं रोग पत्ता लगाउन पनि गरिन्छ । जस्तो पहिला पहिला रोग पत्ता लगाउन भिडियो एक्सरे आयो । त्यसपछि सिटी स्क्यान आयो । त्यसपछि एमआरआई आयो । यसरी रोग पत्ता लगाउने रेडियोलोजीलाई छायाँ विद्या पनि भनिन्छ । यस्ता प्रविधिले पनि रोग पत्ता लाग्न सकेन । महिलाहरुको पाठेघर अर्थात तल्लो पेट दुखेको दुख्यै भयो । त्यो रोग पत्ता लगाउन डाइनोष्टिकको रुपमा पनि ल्याप्रोस्कोपी प्रयोग गर्न सकिन्छ । त्यस्तै, बाँझोपनको अवस्थामा बच्चा किन बस्न सकेन ? नलीको अवस्था कस्तो छ ? डिम्बासयको अवस्था कस्तो छ ? नली खुला छ कि छैन ? यो पत्ता लगाउन पनि ल्याप्रोस्कोपी विधि प्रयोग गर्न सकिन्छ । यस्तै अरु रोगको डाइनोष्टिकको लागि यसलाई प्रयोग गर्न सकिन्छ । स्त्री रोगमा महिलाहरुको नर्मल डेलिभरी अर्थात तलबाट बच्चा पाउने र यति केहिले काहीं तलबाट बच्चा आएन र चिरेर निकाल्नु पर्यो भने, यी दुई वटा अवस्थाबाहेक स्त्रीरोगसम्वन्धी सबै उपचार आजको मितिमा ल्याप्रोस्कोपी सर्जरीबाट गर्न सकिन्छ ।

ठूलठूलो ट्युमरको उपचार पनि संभव छ ?
विश्वभरको अहिलेसम्मको अध्ययनले छ किलोसम्मको ट्युमर सर्जरीबाट निकालेको रेकर्ड छ । मेडिकल रेकर्डमा त्यो कुरा छ । हामीले यहाँ (अल्का अस्पतालमा) पनि साढे दुई किलोसम्मको ट्युमर निकालेको रेकर्ड छ । जस्तो अब कसैकसैको पाठेघरमा माशु (ट्युमर) पलायो, केही लक्षण देखिँदैन, तर रगत गएको गयै भयो, बायोप्सी पनि गरिसकेको छ, औषधि पनि खाएको खायै छ, तर रगत गएको गयै छ, बच्चा भएको छैन तर ठूलो ट्युमर आयो, डिम्बासयमै ट्युमर आयो, कुनै रोगको कारणले पाठेघर नै फाल्नुपर्यो वा नली मात्रै फाल्नुपर्यो, बच्चा पाठेघरमा नबसेर डिम्बासयमा बसिदियो भने ल्याप्रोस्कोपीबाट उपचार हुन्छ । र क्यान्सर । प्रश्न आउँछ के क्यान्सर पनि दुरर्विनबाट हुन्छ र ? हुन्छ । तर त्यसको लागि अर्कै तालिम चाहिन्छ । ल्याप्रोस्कोपीमा अंकोसम्वन्धी तालिम भएपछि क्यान्सरको उपचार गर्न मिल्छ । नेपालमा छ जस्तो लाग्दैन । हामीले पनि गरिरहेको छैन क्यान्सरको । अरु उपचार चाहीं भइरहेको छ ।

अब बारम्बार आउने प्रश्न भनेको प्वाल पार्ने एक सेन्टिमिटर, आधा सेन्टिमिटर मात्रै । आठ नौ सेन्टिमिटरको ठूलठूलो ट्युमर कसरी निस्किन्छ ? हामीले सामान्यतया हेर्दा पनि बच्चा पाउँदा दुई तीन किलोको बच्चा हुन्छ । यो बच्चा हाम्रो गुप्ताङ्गको प्वालबाट मज्जाले निस्किन्छ । ल्याप्रोस्कोपी अपरेशनमा ट्युमरलाई माथिबाट छुटाइसकेपछि बच्चा पाउने द्धारबाट नै निकाल्ने हो । कहिले कहिले एकदम ठूलो चार पाँच किलो कै ट्युमर भयो र बच्चा पाउने द्धारबाट निस्किन सकेन भने मर्सलेट, त्यो ट्युमरलाई आधा वा कति हुन्छ, त्यसलाई किमा जस्तै टुक्रा बनाएर माथिबाट निकालिन्छ र बाँकी चाहीं बच्चा पाउने द्धारबाट निकालिन्छ ।

यो उपचार विधि कत्तिको महंगो छ । आम नेपालीले उपचार गर्नसक्ने खालको छ कि छैन ?
ल्याप्रोस्कोपी सर्जरीमा पैसा फरक फरक हुन्छ । किनभने यो प्रविधि भनेको मोवाइल प्रविधि जस्तो हो । यसको मेशिन भनौ या प्रविधिमा थुप्रै फरक छ । नबुझ्ने मानिसलाई अल्लि गाह्रो भएको हामीले देखेका छौं । सिम्पल बाइपोलोले गर्दा साधारण खर्चमा हुनसक्छ । तर त्यसको कम्पिकेशन बढि हुनसक्छ । जस्तो भनौं चार किलोको ट्युमर निकाल्यौं । पाँच एमएल रगत भयो । पाँच एमएल रगत त हामीलाई कुनै चोटपटक लागेको बेलामा पनि जाने गर्छ । त्यो भएकोले विना कम्प्लिकेशन राम्रो सर्जरी गर्नुपर्यो भने हाइयर सोर्स अफ इनर्जी प्रयोग गर्नुपर्यो । ल्याप्रोस्कोपीको मेशिनलाई करोडौं करोडसम्म मूल्य पर्छ । यसलाई यति वटा विरामीको लागि मात्रै प्रयोग गर्ने भनेर कम्पनीले नै तोकेको हुन्छ । त्यसपछि यसले काम गर्न छोड्छ । त्यो कारण ल्याप्रोस्कोपी सर्जरी न्यून लागतमा पनि गर्न सकिन्छ । महंगो पनि पर्छ । हामीले अहिले आम नेपालीले नै गर्नसक्ने उपचार गरिरहेका छौं । हामीलाई लाग्छ हामीले गर्ने ल्याप्रोस्कोपी सर्जरी अन्य अस्पतालले गर्ने ओपन सर्जरीभन्दा महंगो छ जस्तो लाग्छ । अध्ययन गरेर हेर्दा त्यो देखिएको छ । मैले निजी क्षेत्रका अस्पतालहरुको तुलना गरेर भनेको ।

ल्याप्रोस्कोपी उपचार विधि अपनउँदा बिरामीलाई फाइदा चाहीं के हुन्छ ?
घाउ एकदम सानो भएपछि त्यसको दुखाई कम हुने हुन्छ । आज उपरेशन गर्यो भोलि घर जान तयार भएको हामीले धेरै बिरामी देखेका छौं । अध्ययनले पनि के भन्छ भने कम्तिमा सात दिनमा विरामी काममा फर्किन सक्छ । तर यो अध्ययनलाई मैले मानिन । किनभने मैले उपचार गरेको बिरामी पाँच दिनमै सजिलै अफिस गएर काम गरेको छ । त्यसले गर्दा आफ्नो काम पनि धेरै दिन प्रभावित भएन । बिरामीहरुमा कम्प्लिकेशन हुने, रगत खेर जाने, अपरेशन गर्ने बेलामा पेट धेरै चिरेर रगत धेरै जाने, त्यो खालको समस्या ल्याप्रोस्कोपी सर्जरीमा हुँदैन ।

इन्फेक्शन हुने, अपरेशन असफल हुने समस्या हुँदैन ?
हुँदैहुँदैन भनेर भन्न सकिन्न । तर एकदमै कम । जस्तो कसैको सुगर रोग छ । सुगर हुने बिरामीलाई त त्यत्तिकै पनि घाउ पाक्ने संभावना हुन्छ । कसैले सरसफाइमा ध्यान दिएन भने, कसैको डाइट पुगेन, पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कम भएका मानिसहरुमा चाहीं घाउ पाक्ने संभावना हुनसक्छ । तर घाउ पाके पनि सानो हुने भएकोले निको चाँडै हुन्छ । यो विधिबाट उपचार गर्दा एन्टिवायोटिकको प्रयोग कमै मात्रामा गरिन्छ । दुखाईको औषधि चलाउने कुरामा पनि कम हुन्छ । अस्पतालमा धेरै दिन बस्नुपर्दैन । त्यसले गर्दा खर्च पनि जोगिन्छ । घरपरिवारका मानिसलाई पनि कुनुपर्ने झन्झट कम हुने भयो ।

ल्याप्रोस्कोपी सर्जरीबारे धेरैमा भ्रम भएको देखिएको छ । यो अपरेशन गर्यो भने छुटपाट हुन्छ । के हुन्छ भनेर । तर त्यस्तो हुँदैन । हातले पेट चिरेर गरिने अपरेशन नाङ्गै आँखाले हेरेर गरिने अपरेशन हो । नाङ्गै आँखाले हेरेर गरिने अपरेशन हो । ओपन सर्जरीमा नाङ्गै आँखाले अंगहरु हेरेर गरिने अपरेशन ल्याप्रोस्कोपीमा चाहीं त्यो अंगलाई कम्प्युटरको स्क्रिनमा म्याक्सिमाइज गरेर गरिन्छ । सानो भाग पनि कम्प्युटरमा पाँच गुणा ठूलो भएर जाने भएकोले हरेक कुरा स्पष्टरुपमा देखिन्छ । सायद यो भ्रम नजानेको डाक्टरहरुले फैलाएको हो कि । मानिसहरुमा त्यो भ्रम देखिन्छ । मेडिकल फिल्डमा कुनै एउटा डाक्टरले भनेर त्यो कुरा प्रमाणित हुँदैन । त्यसको बारेमा अध्ययन भइसकेको हुनुपर्छ । हजारौं बिरामीहरुमा त्यसको परीक्षण भएर निष्कर्ष निकाल्नुपर्छ । मेडिकलमा अमेरिकन सोसाइटी, युरोपियन सोसाइटी जस्ता थुप्रै सोसाइटी हुन्छ । संसारभरिकोले ओपन सर्जरीभन्दा ल्याप्रोस्कोपी सर्जरी राम्रो हो भनेपछि हामीले यो राम्रो हो त्यो नराम्रो हो भनेर निर्णय गर्ने होइन ।

Advertisement

Advertisement

Advertisement