इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामी, सयौंको मृत्यु

Advertisement

काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प र भूकम्पपछि आएको सुनामीका कारण तीन सय ८० भन्दा बढीको मृत्यु भएको छ । मध्य इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछि सुनामी आएको हो ।

सुरुमा ६.० म्याग्नीच्युड र त्यसपछि लगातार ७.४ र ६.१ म्याग्नीच्युडको भूकम्प गएको बिबिसीले जनाएको छ । भूकम्पको केन्द्रविन्दु सुजावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण–यूएसजीएसले जनाकारी दिएको छ । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभाव पारेको हुनाले त्यस क्षेत्रमा बढी जनधनको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछिको सुनामीका कारण पालू शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यस क्षेत्रमा करिब तीनलाख मानिसहरु बसोबास रहेको छ । त्यहाँ टेलिफोन सेवा, विद्युत आपूर्तीलगायत पूर्णरुपमा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् ।

सामाजिक सञ्जालहरुमा शेयर गरिएका केही भिडियोहरुमा कयौं मानिसहरु चिच्याइरहेको देखिन्छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्प र त्यसपछि आएको सुनामीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकि छ ।

इन्डोनेशियामा विश्वका अन्य मुलुकहरुको तुलनामा बढी भूकम्प जाने गरेको छ । विगत एक महिनामा इन्डोनेशीयामा थुप्रै शक्तिशाली भूकम्प गएका छन् । यसअघि ५ अगष्टमा इन्डोनेशियाको लम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी लगभग पाँच सय जनाले ज्यान गुमाएका थिए ।

सन् २००४मा सुमात्रा द्वीपमा गएको शक्तिशाली भूकम्पपछी हिन्द महासागरमा सुनामी आउँदा किरब दुई लाख २६ हजारभन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो ।

Advertisement

Advertisement

Advertisement