स्थानीय प्रशासनले बक्यौता भुक्तानी गर्न पहल गर्ने भएपछि उखु किसानको आन्दोलन स्थगित

Advertisement

नवलपरासी । किसान र स्थानीय प्रशासनबीच सहमति भएपछि पश्चिम नवलपरासीमा जारी उखु किसानको आन्दोलन स्थगित भएको छ ।

चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्नुपर्नेलगायतका माग राखी पश्चिम नवलपरासीका उखु किसानले शुक्रबारदेखि बर्दघाट बजारमा राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् । स्थानीय प्रशासनले किसानले पाउनुपर्ने बक्यौता रकम भुक्तानी गराउन उद्योग पक्षसँग पहल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

दशैं अघि नै किसानको बाँकी रकम उद्योगबाट भुक्तानीका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने सहमति भएको छ । तत्काल भुक्तानी शुरु नभए पुनः आन्दोलन गर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

अघिल्लो वर्षको बक्र्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले शुरुमै भुक्तानी तालिका सार्वजनिक गर्नुपर्ने माग उखु किसानको छ ।

जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी रकम पाउन बाँकी छ । वाग्मती चिनी मिलले २६ करोड रुपियाँ, इन्दिरा सुगर मिलले १७ करोड रुपियाँ तथा लुम्बिनी चिनी मिलले दुई करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्धुप्रसाद बरइले जानकारी दिए ।

‘उखु क्रसिङ गरेको ६ महिना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन् ।’ उनले भने । किसानले प्रति क्वीन्टल पाँच सय ३६ रुपियाँका दरले भुक्तानी पाउन बाँकी छ ।

जिल्लामा कूल सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ । पश्चिम नवलपरासीमा १८ देखि २० लाख क्वीन्टल उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement