झण्डै पाँच अर्ब रुपियाँको स्वदेशि लगानीमा ठूला उद्योग दर्ता

industries

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामामात्रै स्वदेशि लगानीमा पाँच अर्ब रुपियाँ बराबरको उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनीक गरेको भदौ महिनाको तथ्यांक अनुसार विभिन्न जिल्लाहरुमा चार अर्ब ८० करोड २३ लाख रुपियाँ बराबरको स्थानीय लागानीमा ठूला उद्योगहरु दर्ता भएका हुन् ।

उद्योग विभागमा भदौ महिनामा दर्ता भएका स्थानीय लगानीका पाँच वटा उद्योगमा सबैभन्दा बढी लगानी सुशिलकुमार शर्माको नाममा गोयल ईस्पात प्रालि दर्ता भएको छ । सो उद्योगले शतप्रतिशत स्थानीयको लगानीमा दुई अर्ब कुल पुँजी रहेको स्टिल उद्योग विभागमा दर्ता गरेको छ ।

united

उद्योगले एक वर्षमा एमएस पाईप ५० हजार मेट्रिक टन, जिआई पाईप दुई हजार मेट्रिक टन, विद्युतिय पोल चार हजार मेट्रिक टन, र विभिन्न सटरका पार्टस्हरु पाँच हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको जनाइएको छ । नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना हुन लागेको सो उद्योगले एक सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिने छ ।

त्यसैगरी विभागमा दर्ता भएको दोस्रो ठूलो उद्योग अथर्व सिमेन्ट उद्योग रहेको छ । पिताम्वर गैरेले विभागमा दर्ता गरेको उक्त उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसि सिमेन्ट, एक लाख ५९ हजार टन पिपिसी सिमेन्ट तथा ८८ हजार नौ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य लिएको जनाइएको छ । विभागका अनुसार त्यस उद्योगले दुई सय ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने छ ।

भदौ महिनामै दर्ता भएको तेस्रो ठूलो उद्योगको रुपमा सेन्ट्रल प्लाजा नामक होटल रहेको छ । उक्त होटल तुल्सीदेवी अर्यालको नाममा ६० करोड रुपियाँ कुल लागतसहित दर्ता भएको विभागले जनाएको छ । उक्त होटल एक सय ५० वटा बेडसिटसहितको हुने बताइएको छ । उक्त होटलमा स्थानीयहरुकै शतप्रतिशत लगानी हुने बताइएको छ ।

त्यसैगरी उद्योग विभागका अनुसार भदौमै दर्ता भएका उद्योगमध्ये ग्रेस फर्मासिउटिकल दर्ता भएको छ । वार्षिक दुई करोड ५० लाख ट्यावलेट, एक करोड क्याप्सुल, दुई लाख लिटरझोल औषधी तथा २० हजार किलोग्राम अन्य सामाग्री उत्पादन गर्ने लक्ष्यसहित दर्ता भएको विभागले जनाएको छ ।

त्यस्तै अन्य स्थानीय लगानीका ठूदा उद्योगमा २४ करोड रुपियाँ कुल लागतको स्टिल उद्योग दर्ता भएको छ । विभिन्न स्थानमा सोहि ठाउँका स्थानीयहरुको लगानीमा काम गर्ने गरी दर्ता भएका उक्त उद्योगहरुले सात सय ५६ जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सिर्जना गर्ने जनाइएको छ ।