अब होटल तथा रेस्टुरेन्टले मेनु मूल्यमा सेवा शुल्क र भ्याट जोड्न नपाउने

Advertisement

काठमाडौं । होटल तथा रेष्टुरेन्टहरुले मेनुमा लेखिएको खानाको मूल्यमा कर र सेवा शुल्क जोडेर लिन नपाउने भएका छन् । कर छलीलाई नियन्त्रण गर्न आन्तरिक राजश्व विभागले होटल तथा रेष्टुरेन्टहरुले तयार पार्ने मेनुमा ग्राहकले तिर्नुपर्ने अन्तिम मूल्य नै उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

आन्तरिक राजस्व विभागले रेष्टुरेन्ट सञ्चालकहरुलाई केही दिन अघि छलफलमा बोलाएर बिल बराबरको हुन आउने रकम नै मेनुमा राख्न निर्देशन दिइसको छ । ग्राहकसँग भ्याट उठाउने तर कार्यालयमा नबुझाउने समस्या बढेपछि त्यसको समाधानको लागि यस्तो व्यवस्था व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

अहिले रेष्टुरेन्टले मेनुमा एउटा मूल्य राख्ने तर ग्राहकसँग त्यसमा मूल्य अभिवृद्धि कर ‘भ्याट’ र सेवा शुल्क जोडेर लिने गरेका छन् । त्यसो गर्दा ग्राहकहरु पनि अन्यौलमा पर्ने र उठाएको भ्याट बुझाए नबुझाएको थाहा नहुने भएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको हो ।

साथै, मेनुको मूल्य हेरेर खान बसेका ग्राहकहरुलाई भ्याट र सेवा शुल्क जोडेर पैसा लिँदा पैसा नपुग्ने र उनीहरु समस्यामा समेत पर्ने गरेका छन् । मूल्य अभिवृद्धि कर ऐन तथा नियमावलीको व्यवस्थाअनुसार विभागले रेष्टुरेन्टहरुलाई करसहितको मूल्य सूची राख्न निर्देशन दिएको हो ।

यसरी मेनुमा अन्तिम मूल्य नै राख्दा ग्राहकलाई सहज हुने र कर असुली प्रक्रियामा पनि सहजीकरण आउने विभागको भनाइ छ ।

यसैबीच विभागले महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्यानिटरी, इलेक्ट्रोनिक्स र निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्य मूल्य अभिवृद्धि करमा दर्ता गराउन बजार अनुगमन सुरु गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement