नक्कली आरोहण अनुमतिपत्र बनाएर २२ हजार डलर बाँड्ने ‘सेभेन समिट ट्रेक्स’का तीन कर्मचारी पक्राउ

Advertisement

काठमाडौं । सेभेन समिट ट्रेक्स प्रालिमा लिगल डिपार्टमेन्ट हेडको रुपमा कार्यरत निभेश कार्कीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली आरोहण अनुमतिपत्र बनाएको भन्दै प्रहरीले कार्कीसहित कम्पनीका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्ने थपमा मार्केटिङ म्यानेजर फर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल छन् ।

कम्पनीले सगरमाथा आरोहण गर्न तयार गरेको १४ पिक एक्सपेरियन्स एभरेष्ट एक्सपेडिशन २०१८ नामक आरोहण दलको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट लिएर सोही पत्रका आधारमा अर्को नक्कली पत्र तयार गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाई छ ।

विभागबाट लिएको सक्कली पत्र लुकाएर सोही पत्रमा रहेका १२ जनाको नाममा दुई जना थप गरी १४ जना गरेको, नक्कली अनुमति पत्रमा सक्कली कै मिति र परमिट नम्बर राखेको जनाइएको छ । थपिएका दुई जनाको नाममा एक जना चिनियाँ र एक जना अमेरिकी पर्यटक छन् ।

पर्यटन विभागबाट १४ पिक एक्सपेरियन्स एभरेष्ट एक्सपेडिशन २०१८ नामक दलको सम्पर्क अधिकृतको रुपमा खटिएका कर्मचारीले विभागबाट बुझिलिएको सक्कली आरोहण पत्रको छायाँप्रति सगरमाथा प्रदुषण नियन्त्रण समितिनमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको पत्रमा आरोही संख्या फरक देखिएपछि अनुसन्धान सुरु गरिएको हो ।

संलग्न कर्मचारीहरुले दुई जनाको परमिट शुल्कवापत आउने २२ हजार अमेरिकी डलर बाँडेर लिने योजनाअनुसार नक्कली आरोहण अनुमतिपत्र तयार गरेको जनाइएको छ । उक्त रकममध्ये अर्यालले सात लाख ३५ हजार, शेर्पाले सात हजार दुईसय डलर र बाँकी कार्कीले लिएको प्रहरीले जनाएको छ । उनीहरुउपर ठगी आरोपमा छानविन भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement