चिनी ७० होइन, ६३ रुपियाँमा देउः लेखा समिति

Advertisement

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ७० नभई ६३ रुपियाँ कायम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले चिनीको खुद्रा मूल्य ७० रुपियाँ कायम गरेको भोलिपल्ट बिहीबार समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकले दशैंको मुखमा चिनीको मुल्य नबढाउन निर्देशन दिँदै चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपियाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराइएको छ । सरकारले चिनी आयातमा नियन्त्रण कायम गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको बेला बजारमा चिनीको भाउ ह्वात्तै बढेपछि आलोचना हुँदै आएको छ ।

आलोचना भइरहेको बेला मन्त्रालयले चिनी उद्योगीहरुसँग कुरा गरी मूल्य प्रतिकेजी ७० रुपियाँ कायम गरेको थियो । तर लेखा समितिले उक्त मूल्य चर्को भएको भन्दै पूरानै मूल्यअनुसार चिनी बिक्री गर्न निर्देशन दिएको छ ।

समितिले उखु किसानको बक्यौता रकम १५ दिनभित्र उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । समितिले चिनीलगायतका चाडपर्वका बेला अतिआवश्यकीय बस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको समितिका सभापति भरत शाहले बताए ।

बैठकमा नेपाल वायुसेवा निगमले किनेको वाइडबडी जहाज लगायतका विषयमा पनि कुरा भएको थियो ।

Advertisement

Advertisement

Advertisement