वीरगञ्जका व्यवसायीहरुको माग- के नियमित र गुणस्तरीय विजुली देउ, नभए लोडसेडिङ गरिदेउ

Advertisement

काठमाडौं । वीरगञ्जका व्यवसायीहरुले अनियमित विद्युत आपूर्ति र आपूर्ति हुँदा पनि कम भोल्टेजको बिजुलीले गर्दा वीरगञ्ज पथलैया कोरिडोर उद्योगहरु हैरान भएको भन्दै यसलाई सुधार गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।

प्राधिकरणको स्थानीय कार्यालयलाई पटक पटक आग्रह गर्दा पनि समस्या नभएपछि काठमाडौं नै आएर प्राधिकरणको मुख्यालयको ध्यानाकर्षण गराएका व्यवसायीले अनियमित र गुणस्तरहीन विजुलीले गर्दा वीरगञ्ज पथलैया कोरिडोरका उद्योगहरु चल्नै नसक्ने अवस्थामा पुगेको बताए ।

यस क्षेत्रका उद्योगी व्यवसायीको तर्फबाट वीरगञ्ज उद्योग बाणिज्य संघले शुक्रबार प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युत आपूर्ति र आपूर्ति भएको बेलाको विजुली पनि कम भोल्टेजको हुँदा उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आएको, महंगा मेशिनहरु चाँडै बिग्रिने र मजदुरहरुले काम गर्न नपाउने अवस्था लामो समयदेखि भोग्नुपरेको बताएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले प्राधिकरणको अहिलेको विद्युत आपूर्तिको अवस्था डिजलबाट उद्योग चलाएभन्दा पनि महंगो सावित भएको भन्दै यसरी विजुली आपूर्ति गर्नुभन्दा लोडसेडिङ नै गरिदिए बेस हुने बताए । उनीहरुले यस विषयमा प्राधिकरणले उर्जा मन्त्रालयलाई बारम्बार वीरगञ्जका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको केडियाको गुनासो छ ।

संघले प्राधिकरणलाई बुझाएको ज्ञापनपत्रमा वीरगञ्ज पथलैया कोरिडोरमा रहेका उद्योगहरुका लागि नियमित विद्युत आपूर्ति गरिएको भनिए पनि नियमित नरहेको र आपूर्ति भएको बेलाको बिजुली पनि गुणस्तरीय नभएको जनाइएको छ ।

केडियाले लोडसेडिङले भन्दा अनियमित विद्युत कटौतीले उद्योगमा बढी क्षति पुग्ने भन्दै विना सुचना विद्युत कटौति हुँदा, विद्युतको गुणस्तरीयतामा कमी आउँदा मिल, मेशिन, औद्योगिक उपकरणहरु बिग्रिने, उत्पादन प्रक्रिया समेत अवरुद्ध हुने र कच्चा पदार्थहरुसमेत खेर जाने गरेको बताए ।

वीरगञ्ज क्षेत्रका उद्योगहरुमा दिनहुँ पटक पटक पावर ट्रिपिङ, पावर फेलियर, भोल्टेज फ्क्सन, सिंगल फेज सप्लाई जस्ता समस्या आउने गरेको व्यवसायीहरुको भनाई छ । प्राधिकरणका उपकार्यकारी निर्देशक न्यौपानेले भने वीरगञ्जका उद्योगीहरुले भोग्दै आएको समस्याप्रति आफूहरु गम्भीर रहेको र प्राथमिकताका साथ समस्या समाधान गर्न आफूहरु लाग्ने बताएको केडियाले बताए ।

Advertisement

Advertisement

Advertisement