चिनीको भन्सार सन्दर्भ मूल्य नघटाउने सरकारको निर्णय, आयातकर्ताको निवेदन अस्वीकृत

Advertisement

काठमाडौं । चिनीको भन्सार सन्दर्भ मूल्य परिवर्तन गर्न चिनी आयाताकर्ताले गरेको आग्रहलाई सरकारले अस्वीकृत गरेको छ। चिनीको सन्दर्भ मूल्य प्रतिक्विन्टल ४६५ अमेरिकी डलर बनाइएपछि त्यसको पुनरावलोकनका लागि आयातकर्ताले पुनरावलोकन समितिमा निवेदन दर्ता गरेका थिए ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख हरिशरण पुडासैनी नेतृत्वमा रहेको समितिले चिनीको सन्दर्भ मूल्य ४६५ डलर नै कायम हुने जबाफ फर्काएको छ। आयातकर्ताले विभिन्न समयमा दिएका पुनरावलोकनका निवेदनमध्ये २० वटाको सुनुवाई सकिएको समितिले जनाएको छ ।

समितिले चिनीको सन्दर्भ मूल्य भन्सारमा कायम भएको नै अन्तिम हुने सूचना सम्बन्धित निवेदकलाई दिएको समितिका एक सदस्यले जानकारी दिए। पुनरावलोकन समितिले निर्णय भएको ७ दिनभित्रमा सम्बन्धित उजुरीकर्तालाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ।

भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य बढाएर ४६५ अमेरिकी डलर कायम भएपछि आयातकर्ताले त्यसविरुद्ध पुनरावलोकनका उजुरी दर्ता गरेका थिए। चिनी आयातकर्ताले भन्सारको गोदाममा चिनी आइसकेपछि सन्दर्भ मूल्य परिवर्तन भएको भन्दै त्यसलाई हटाउन माग गरेका थिए। व्यवसायीले चिनीको कारोबार मूल्यमा आयात गर्न पाउनुपर्ने माग गर्दै आएका थिए। बढाइएको सन्दर्भ मूल्य विधिसम्मत र व्यवहारिक नभएको भन्दै आयातकर्ताले पुनरावलोकन समितिमा उजुरी गरेका थिए ।

पुनरावलोकन समितिले टुंगो लगाएको विषयमा चित्त नबुझे व्यवसायी अदालत जान सक्ने कानूनी व्यवस्था छ ।

डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भए लगत्तै चिनीको भन्सार प्रयोजनार्थ सन्दर्भ मूल्य बढाएर प्रति मेट्रिक टन ४६५ अमेरिकी डलर बनाइएको थियो। पहिले सन्दर्भ मूल्य ३०० देखि ३६० अमेरिकी डलर कायम थियो ।

Advertisement

Advertisement

Advertisement