अस्ट्रेलियाले नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा मात्र बस्न दिने

Advertisement

सिड्नी । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।

बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो ।

सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो, जनसंख्या मन्त्री अलान टजले बताए ।

अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरुमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो । बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए ।

“यो अति घनाबस्ती परिवारहरुका लागि गम्भीर चुनौती हो र मुलुकका लागि गम्भीर आर्थिक चुनौती हो,” उनले बताए । “अस्ट्रेलिया आउने मानिसलाई हामी साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने उपायको खोजी गरिरहेका छौं र उनीहरु त्यहाँ केही वर्ष बस्नै पर्दछ ।”

अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्यस्थल रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement