मालपोतका कर्मचारीको कारण सरकारको शिर निहुरियोः मन्त्री अर्याल

Advertisement

काठमाडौं। मालपोत कार्यालयका कर्मचारीले गर्दा सरकारको शिर निहुरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताएकी छिन्।

सेवा ग्राहीलाई सहज हुने गरी विकास गरिएको नयाँ फारम र टोकन प्रणालीको मंगलबार लगनखेल स्थित ललितपुर मालपोत कार्यलयमा उद्घानटन गर्दै मन्त्री अर्यालले यस्तो आरोप लगाएकी हुन् ।

सेवाग्राहीलाई सरलीकृत गरिएको नयाँ फारम दिँदै मन्त्री अर्यालले, जनतालाई सरकारले दिने सेवामा परिवर्तनको अनुभूती गराउन नयाँ फर्ममा परिवर्तन गरिएको उनको भनाई थियो।

‘कुनैपनि मालपोत कार्यालय र त्यहाँका कर्मचारीको छवि राम्रो छैन। अब तपाई हामी सबैले चरित्र परिवर्तन गरेर काम गर्नुपर्छ । गर्वका साथ मालपोत कार्यालयमा काम गर्छौ भन्ने वातावरण बनाउनुपर्छ’ अर्यालले भनिन्।

मन्त्री र सचिवले चाहेर मात्रै सेवा प्रवाहमा परिवर्तन नहुने भन्दै, सबै कर्मचारीले पनि गर्व गर्न योग्य काम गर्न निर्देशन दिइन्।

पहिलो चरणमा अनलाईन प्रणाली लागु भएका ३४ वटा मालपोत कार्यालयबाट सरलीकृत गरिएको फारम लागु गरिएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

अनलाइन प्रणाली लागु गरिएका ३४ वटा मुख्य मुख्य मालपोत कार्यालयबाट कुल कारोबारको ७० प्रतिशतसम्म कारोबार हुने गरेको छ। मैनालीले भने, यीनै मालपोत कार्यालयमा पहिलो चरणमा सरल फारम आजैदेखि लागु भएको छ।

नयाँ फर्म र टोकन प्रणाली लागू भएपछि सेवाग्राहीको काम छिटो हुनुका साथै अनैतिक गतिविधि पनि निरुत्साहित हुने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement