बोइङ युग अन्त्य गर्दै निगम, आगामी ‘डिसेम्बर’ देखी एयरबसमात्र उडाउने तयारी

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले बाँकी रहेको एउटा बोइङ जहाज पनि बेच्ने भएको छ । उक्त बेच्न लागिएको बोइङको सिंगापुरको एक कम्पनीले मूल्यांकन समेत गरिसकेको निगमले जनाएको छ । मूल्यांकन भइसके पनि खरिद प्रतिवेदन भने नआइसकेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

निगमले तीन दशकसम्म उडान गरिसकेको यस बोइङ जहाज अमेरिकी कम्पनीले बनाएको थियो । निगमले बोइङ जहाज नभई एयरबसमात्र उडाउने नीती लिएसँगै यसअघि एउटा बोइङ विक्री गरिसकेको छ भने बाँकी एउटामात्र यो बोइङ पनि आगामी डिसेम्बरदेखि (तीन महीना) नउडाउने तयारीमा रहेको प्रवक्ता सिग्देलले बताए ।

बेच्नको लागि मूल्यांकन भएको यो बोइङ उडाउँदा जहाजको उडान आवर बढ्ने हुँदा जहाजलाई ग्राउन्डेड गरेरै बिक्रीमा राख्नुपर्ने निगमले जनाएको छ । आगामी डिसेम्बरसम्म जहाज उडाउने र त्यसपछि नउडाउने गरी मूल्यांकन भएको पनि निगमले जानकारी दिएको छ । मूल्यांकन समितिको प्रतिवेदन पछि मात्रै यसलाई डिसेम्बरपछि के गर्ने भन्ने विषयमा जानकारी दिन सकिने पनि निगमको भनाइ छ ।

निगम तीन दशक लामो बोइङ युगलाई अन्त्य गर्दै एयरबसका जहाज मात्रै उडाउने छ भने बोइङ निगमका लागि एउटा इतिहास हुने भएको छ । बोइङ जहाज लामो समय उडान गरेको पुरानो भएका कारण मर्मत खर्च बढी र अपरेशन खर्च बढेका कारण निगमले लागत नै बढी भएको भन्दै बोइङ विस्थापन गर्न थालेको हो ।

निगमसँग एक सय ९० सिट क्षमताको बी ७५७ जहाजको ९ एन एसीबी नामक एउटा मात्रै बोइङ जहाज छ । यो जहाजलाई बिक्री गर्ने र हाल उडानमा प्रयोग गरिरहेको एयरवसको एक सय ५८ सिट क्षमताको ए३२०–२०० सिरिजकै अर्को दुई वटा थप गर्न लागेको जनाएको छ ।

दुई वटा एयरवसको न्यरोबडी जहाज थप्न निगम सञ्चालक समितिबाट स्वीकृत पाइसकेको पनि प्रवक्ता सिग्देलले जानकारी दिए । अब निगमले यो जहाज खरिद गर्न आवश्यक प्रक्रिया मिलाउने, स्रोतको व्यवस्थापन गर्ने, अर्थ मन्त्रालयको स्वीकृती लिने, सरकारको जमानीमा ऋणको खोेजेरै जहाज ल्याउने प्रक्रिया अगाडि बढाउने भएको छ ।

निगमका अनुसार हाल ऋणमा खरिद गरेको दुई वटै न्यारोबडी र दुई वटा वाइडबडीले उडान गरिरहेका छन् । अब दुई वटा थप गरेर निगमले आफ्नो बजार हिस्सा बढाउने र निगमको शाख पनि बचाउँने गरी तयारी गरिरहेको उल्लेख छ ।

निगमले एयरवस मात्रै जहाज उडाउने भन्दै एक वर्ष अगाडि निगमसँग भएको दुईमध्ये एउटा बी ७५७ को ९ एन एसीए नामक जहाज बिक्री गरिसकेको छ । यो कम्पनीसँग रहेको र हाल उडानमा रहेको १९० सिट क्षमताको अर्को जहाज पनि बिक्री गर्ने करिब निगम अन्तिम तयारीमा पुगेको छ ।

निगमले एयरवस ल्याएपछि पुरानो जहाज बिक्री गर्ने, उडान सुरक्षा तथा स्याण्डर्ड, प्राविधिक कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मान्यता अनुसार एकै प्रकारको मात्रै जहाज सञ्चालन गर्ने भएको छ ।

एउटा कम्पनीले दुई प्रकारको जहाज उडाउँदा सबै व्यवस्था छुट्टाछुट्टै गर्नुपर्ने र इन्जिनियर तथा पाइलट पनि एउटा प्रकारबाट अर्कोमा जान पाउँदैनन् । निगमको एयरवस रहेन पाइलट तथा इन्जिनियरले बोइङ उडाउन नपाउने र बोइङले एयरबस उडाउन पाउँदैनन् । यो संसारभकै लागि एउटै नियम हो । यही नियमलाई मान्न पनि निगमले तीन दशक लामो बोइङ युगलाई अन्त्य गर्दै अब एयरवस मात्रै उडाउने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement