मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारप्रति संसदीय समितिमा आक्रोश

Advertisement

काठमाडौं। प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

दशैँलगायतका चाडपर्वका बेला जनतालाई मारमा पार्ने गरी चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बिक्री वितरण भइरहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको हो।

बिहीबार बसेको समितिको बैठकमा चिनीको मूल्य प्रतिकेजी सय रुपैयाँमा बिक्री वितरण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै समितिका सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए। बैठकमा समितिका सदस्यहरुले उखु किसानको बक्यौता रकम चिनी मिलबाट उपलब्ध गराउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।

बजारमा महँगी बढ्दै गएकाले अनुगमनको कामलाई प्रभावकारी बनाएर चिनीलगायतका दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति विमलप्रसाद श्रीवाास्तवले जानकारी दिए।

समितिले चिनी उद्योग र त्यसको सम्पूर्ण गतिविधिसमेतको विवरण समितिमा पेश गर्न पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकमा उपस्थिात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सीमित स्रोत, साधनका कारण सबै ठाउँमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकिएको स्पष्टिकरण दिए।

Advertisement

Advertisement

Advertisement