अब नेपालमै पावर ट्रान्सफर्मरको उत्पादन, अबौं मूल्यको आयात कम हुनसक्ने

Advertisement

काठमाडौं । नेपालमा ट्रान्सफर्मरहरु उत्पादन गरी निर्यातसमेत गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनीले अब पावर ट्रान्सफर्मर पनि उत्पादन गर्ने भएको छ । नेपालमा २५ बर्ष लामो इतिहास बोकेको यस कम्पनीले निक ब्राण्डका ट्रान्सफर्मरहरु उत्पादन गर्दै आएको छ ।

गुणस्तरीय ट्रान्सफर्मर उत्पादन गर्दै आएको नेपाल एकरातले देशमा विद्युत उपभोग तथा प्रवाहको बढ्दो माग र खाँचोलाई मध्यनजर राख्दै पावर ट्रान्सफर्मर उत्पादन थाल्न लागेको हो । हालसम्म कम्पनीले वितरण ट्रान्सफर्मर मात्रै उत्पादन गर्दै आएको छ ।

नेपाल इकरातले पावर ट्रान्सफर्मर उत्पादन सुरु गरेसँगै यस्ता उत्पादन सुरु गर्ने पहिलो कम्पनी हुनेछ । जलविद्युत आयोजना, विद्युतगृह तथा सबस्टेसनहरुमा यस्ता ट्रान्सफर्मर प्रयोग हुने यस्ता ट्रान्सफर्मर नेपालमा उत्पादन भएपछि आयात गर्नुपर्ने बाध्यता हुँदैन ।

पावर ट्रान्सफर्मरसहित विद्युतीय उपकरणहरुको बजार बनाउन छिमेकीसहित विभिन्न मुलुकले निकै कसरत गर्दै आएको बेला नेपाल इकरातले त्यस्ता सामग्रीहरु नेपालमै उत्पादन गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयासमा लागेको हो ।

पावर ट्रान्सफर्मरले प्रणालीमा उपलब्ध विद्युत भोल्टेज बढाएर आपूर्ति गर्नेछ । नेपालमा अहिले निर्माणाधिन विद्युत आयोजनाहरुमा करिव दुई सयको संख्यामा पावर ट्रान्सफर्मर जडित रहेको र ती सबै आयातित रहेको अवस्थामा नेपालमा यस्ता सामग्रीहरु उत्पादन भएपछि मुलुकको व्यापार घाटा कम गर्न सहयोग पुग्ने देखिएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीका अनुसार पहिलो चरणमा माथिल्लो मैलुङ खोलामा ७.९ एमभिएको ट्रान्सर्फमर आपूर्ति गरिएको छ । मागअनुसार उत्पादन बढाउँदै उनीहरुलाई आपूर्ति गरिने छ । कम्पनीले १३२ केभी भोल्टेज प्रणालीमा प्रयोग हुने १० एमभिए क्षमतासम्मका ट्रान्सफर्मर उत्पादन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले ४० एमभिएसम्मका ट्रान्सफर्मर उत्पादन गर्न सक्ने भए पनि अहिले १० एमभिएबाट सुरु गर्न लागेको हो । जोशीले एउटा पावर ट्रान्सफर्मरको मूल्य करिब डेढ करोड रुपियाँ पर्ने जानकारी दिए ।

त्यस्तै, उनले हाल कम्पनीले उत्पादन गर्दै आएको वितरण ट्रान्सफर्मरको उत्पादन बढाउँदै वार्षिक दुई हजार वटा पुर्याएको छ । छ हजारसम्म उत्पादन गर्ने क्षमता भए पनि माग नहुँदा परिमाण बढाउन नसकिएको हो । नेपाल विद्युत प्राधिकरणले गर्ने अन्तर्राष्ट्रिय ठेक्का प्रक्रिया, सार्वजनिक खरिद ऐनका प्रावधान, चिनियाँ कम्पनीहरुले न्यून कोट गर्ने अवस्था जस्ता कुराले गर्दा नेपाल उत्पादनहरुलाई प्रतिस्पर्धा गर्न कठिनाई भएको जोशीको भनाई छ ।

खरिद ऐनमा १५ प्रतिशतसम्म बढी मूल्य परे पनि स्वदेशी वस्तु तथा उत्पादन खरिद गर्नुपर्ने नियम भए पनि विदेशी कम्पनीले निकै सस्तोमा ठेक्का प्रस्ताव गर्ने र उनीहरू मूल्यसँग प्रतिस्पर्धा गर्न नसकिएको भन्दै उनले सरकारी नीति नियममा सुधार नगर्ने हो भने नेपाली उद्योगहरुलाई टिक्न कठिन रहेको बताए ।

नेपाल इकरातले विगत ९ वर्षदेखि प्राधिकरणलाई ट्रान्सफर्मर बेच्न सकेको छैन । अहिले देशमा करिब चार हजार वितरण ट्रान्सफर्मरको माग रहे पनि अधिकांश आयात हुँदै आएको छ । भुटानमा आफ्ना उत्पादनहरु निर्यात गर्दै आएको कम्पनीले स्वदेशमै भने बिक्री गर्न सकेको छैन ।

कम्पनीले प्राधिकरणबाहेक टेलिकम, खानेपानी, दूरसञ्चार, नगरपालिका तथा समुदायलाई आफ्ना ट्रान्सफर्मरहरु बिक्री गर्ने गरेको छ ।
छ । भुटानपछि बंगलादेशमा पनि ट्रान्सफर्मर निर्यात गर्ने कम्पनीले योजना बनाएको छ ।

Advertisement

Advertisement

Advertisement